ट्रम्पको मध्यस्थतामा थाइल्यान्ड र कम्बोडियाबीच ‘शान्ति सम्झौता’मा हस्ताक्षर

काठमाडौं — थाइल्यान्ड र कम्बोडियाबीच पछिल्लो सैन्य तनाव अन्त्य गर्न आइतबार मलेसियाको राजधानी क्वालालम्पुरमा शान्ति सम्झौतामा हस्ताक्षर गरिएको छ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुल र कम्बोडियाका प्रधानमन्त्री हुन मानेतले संयुक्त रूपमा ‘शान्ति सम्झौता’मा हस्ताक्षर गरेका हुन्। ट्रम्पले यो सम्झौताका लागि मध्यस्थता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

थाइल्यान्ड र कम्बोडियाबीच मन्दिर विवादका कारण पाँच दिनसम्म चलेको सशस्त्र झडपमा ४८ जनाको मृत्यु भएको थियो। उक्त युद्धविराम सम्भव बनाउन ट्रम्पको महत्वपूर्ण भूमिका रहेको बताइन्छ।

हस्ताक्षर कार्यक्रममा ट्रम्पले भने,

“जसलाई असम्भव मानिएको थियो, त्यही कार्य म सम्भव तुल्याउन सफल भएँ।”

उनका अनुसार गत जुलाई महिनामा दुवै देशका नेताहरूसँग भएका दूरभाष संवादहरूले युद्ध रोक्न सहयोग पुर्‍यायो। सम्झौतापछि अमेरिकाले थाइल्यान्ड र कम्बोडियासँग व्यापार सम्झौतासम्बन्धी दस्तावेज हस्तान्तरण गरेको छ।

ट्रम्प आज बिहान क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए, जहाँ मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले रेड कार्पेटमा उनको स्वागत गरे। स्वागत कार्यक्रममा ट्रम्पले स्थानीय कलाकारहरूसँग सांस्कृतिक नृत्यमा सहभागिता जनाएका थिए।

सन् २०१७ पछि पहिलोपटक ट्रम्प आसियान शिखर सम्मेलनमा सहभागी हुन लागेका हुन्। उनी आजै मलेसियाका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

यस वर्षको आसियान शिखर सम्मेलन “समावेशिता र दिगोपन” भन्ने नारासहित क्वालालम्पुरमा सुरु हुँदैछ। यो सम्मेलन दक्षिण–पूर्वी एसियाका १० सदस्य राष्ट्रहरूबीच व्यापार, सुरक्षा, शिक्षा र सांस्कृतिक सहकार्यका विषयमा केन्द्रित रहनेछ।

तपाईको प्रतिक्रिया