विदेशी सामानमा लगाइएको भन्सार सर्वोच्चले हटाएमा ठूलो घाटा हुने ट्रम्पको दाबी

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी वस्तुमा लगाइएको भन्सार सर्वोच्च अदालतले खारेज गरेमा अमेरिकालाई ३० खर्ब डलरभन्दा बढी घाटा हुने दाबी गरेका छन्।

ट्रम्पले दोस्रो कार्यकालमा विश्वका सबै देशका उत्पादनहरूमा भन्सार लागू गरेका छन्। तर, अमेरिकी संसदले मात्रै कर लगाउने अधिकार राख्ने भन्दै धेरै समूह र व्यक्तिले सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।

भन्सारका कारण अमेरिकी उपभोक्ताले विदेशी वस्तु बढी मूल्यमा किन्नुपर्ने भएकाले भन्सार पनि करकै रूपमा प्रभाव पार्ने दाबी गर्दै उनीहरू अदालत पुगेका हुन्।

हाल सर्वोच्च अदालतमा ती मुद्दाहरूको सुनुवाइ चलिरहेको छ। सोही क्रममा राष्ट्रपति ट्रम्पले सर्वोच्चले आफ्नो भन्सार नीति खारेज गरेमा पहिले उठाइसकेको राजस्व फिर्ता दिनुपर्ने, आगामी राजस्व उठ्न नसक्ने र व्यापार सम्झौता अनुसारको विदेशी लगानीमा असर पर्ने दाबी गरेका छन्।

उनका अनुसार, यी सबै कारकहरू मिलाउँदा अमेरिकालाई ३० खर्ब डलरभन्दा बढी घाटा हुन सक्छ। उनले विदेशी सामानमा लगाइएको भन्सारबाट संकलित रकमबाट हरेक अमेरिकी नागरिकलाई दुई हजार डलर वितरण गर्ने प्रतिबद्धता पनि दोहोर्‍याए।

तर अमेरिकी अनलाइन माध्यम एक्सियस (Axios) का अनुसार, अमेरिकाले हाल भन्सारबाट प्रति महिना करिब ३० अर्ब डलर मात्र संकलन गरिरहेको छ। यो गतिमा वार्षिक करिब ४ खर्ब २० अर्ब डलर मात्रै राजस्व उठ्ने अनुमान गरिएको छ।

त्यस्तै, जापान, दक्षिण कोरिया र युरोपेली संघ लगायतका देशहरूले अमेरिकासँग व्यापार सम्झौता गर्दा आगामी वर्षहरूमा १५ खर्ब डलर बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। यद्यपि ती लगानीहरू तत्काल नगद रूपमा नभई क्रमशः दीर्घकालीन अवधिमा हुने स्पष्ट गरिएको छ।

ट्रम्पले भने यी प्रतिबद्धतालाई अमेरिकाले तुरुन्तै पाउने रकमका रूपमा प्रस्तुत गर्दै बढाइचढाइ गरेर व्याख्या गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

तपाईको प्रतिक्रिया