टेरामक्स खरिद प्रकरणमा विशेष अदालतद्वारा थप प्रमाण झिकाउन आदेश

काठमाडौँ । बहुचर्चित टेरामक्स प्रणाली खरिद प्रक्रियासँग सम्बन्धित मुद्दामा विशेष अदालतले थप प्रमाण संकलन गर्न र विज्ञको बकपत्र गराउन आदेश दिएको छ। उक्त मुद्दामा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहन बस्नेतसहित १९ जना प्रतिवादी छन्।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासले आइतबार सुनुवाइका क्रममा टेरामक्स प्रणाली खरिद प्रक्रिया सम्बन्धी थप कागजात आवश्यक ठहर गर्दै सो आदेश जारी गरेको हो।

अदालतले नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स प्रणाली खरिद प्रक्रिया रद्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदनहरूमा भएका आदेशहरूको प्रमाणित प्रतिलिपि झिकाउन निर्देशन दिएको छ। दूरसञ्चार प्राधिकरणले २०७६ वैशाख २० गते उक्त खरिद प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो।

प्राधिकरणको निर्णयविरुद्ध प्रतिवादीमध्ये रहेको ‘भेन्राइज सोलुसन एसएएल’ ले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। सो रिट तथा सोही विषयसँग सम्बन्धित अन्य निवेदनहरूमा सर्वोच्च अदालतबाट भएका आदेशहरू मुद्दाको सुनुवाइका लागि आवश्यक ठहर गर्दै प्रमाणित प्रतिलिपि माग गरिएको हो।

यसैगरी, अदालतले सो प्रकरणको अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा नियुक्त टेलिकम्युनिकेसन विज्ञ केशव ज्ञवालीलाई बकपत्रका लागि उपस्थित गराउन आदेश दिएको छ।

विशेष अदालत ऐन, २०५९ को दफा ७(क) बमोजिम विज्ञ ज्ञवालीलाई भौतिक रूपमा वा श्रव्यदृश्य (भिडियो कन्फरेन्स) माध्यमबाट उपस्थित गराई बकपत्र गराउने व्यवस्था मिलाउन विशेष सरकारी वकिल कार्यालय, काठमाडौँलाई निर्देशन दिइएको छ।

तपाईको प्रतिक्रिया