जेलमुक्तिपछि पुनः मानव तस्करीमा संलग्न भएको खुलासा

कारागारमुक्त भएको एक वर्ष नपुग्दै नुवाकोट दुप्चेश्वर गाउँपालिका–७ का ३२ वर्षीय मानबहादुर तामाङ पुनः मानव तस्करीमा संलग्न भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ। उनले नुवाकोटकी २३ वर्षीया एक युवतीलाई भारतको पुनेस्थित यौन व्यवसाय सञ्चालन हुने क्षेत्र (कोठी) मा १ लाख ५० हजार भारतीय रुपैयाँमा बेचिएको आरोप छ।

पीडित युवतीको गत माघ १५ गते उद्धार गरिएको थियो। युवतीकै उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरोले फागुन २१ गते काठमाडौँको तारकेश्वर नगरपालिका, मनमैँजुबाट तामाङलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार तामाङ केही समयअघि मात्रै जेलमुक्त भएका थिए। यसअघि उनी मानव तस्करीसम्बन्धी अभियोगमा दोषी ठहर भई पाँच वर्ष कैद सजाय भोगिसकेका थिए। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार, तामाङ जेलमुक्त भएपछि फेरि त्यही गैरकानुनी गतिविधिमा संलग्न भएका थिए। “अनुसन्धानबाट पुष्टि भयो कि तामाङ र उनका साथीसहितको समूहले युवतीलाई भारतको पुनेमा लगेर बेचेका थिए,” उनले जानकारी दिए।

यस घटनामा तामाङसँगै दुप्चेश्वर गाउँपालिका–६ का २४ वर्षीय सोमबहादुर तामाङ पनि संलग्न रहेको प्रहरीले जनाएको छ। सोमबहादुर अहिले चोरीसम्बन्धी मुद्दामा नख्खु कारागारमा कैद सजाय भोगिरहेका छन्। उनलाई प्रहरीले फागुन २३ गते तारकेश्वर क्षेत्रस्थित पदमसालबाट पक्राउ गरेको हो।

अनुसन्धान अनुसार, उनीहरूले पीडित युवतीको नाम परिवर्तन गरी निरीमाया घलानको नाममा नक्कली नागरिकता बनाइदिएका थिए। त्यही कागजात प्रयोग गरी उनलाई झापाको पशुपतिनगर नाकाबाट भारतको पानीट्यांकीसम्म पुर्‍याइएको थियो। त्यसपछि कोलकाता, दिल्ली हुँदै पुनेको बुधबारे पेठस्थित रेडलाइट क्षेत्रमा रहेको यौन व्यापार सञ्चालन हुने भवनमा पुर्‍याइएको थियो।

प्रहरीका अनुसार गत मंसिर १८ गते युवतीलाई दार्जिलिङमा मोबाइल किनिदिने बहानामा काठमाडौँबाट झापा लगिएको थियो। पछि आफू बेचिएको थाहा पाएपछि उनले कोठीमा रहेका अर्की युवतीको मोबाइल प्रयोग गरेर आफ्ना श्रीमान्लाई खबर गरेकी थिइन्। त्यसपछि उनका श्रीमान्ले मानव बेचबिखन अनुसन्धान ब्युरोमा निवेदन दिएका थिए।

ब्युरोको सूचनापछि भारतीय प्रहरीले छापा मार्ने तयारी गरेपछि, कोठी सञ्चालकले युवतीलाई नेपाल–भारत सिमाना (सुनौली) ल्याएर छोडेको जनाइएको छ।

तपाईको प्रतिक्रिया