जेनजी आन्दोलन छानबिन आयोगको म्याद तेस्रो पटक बढाइने तयारी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको कार्यकाल फेरि लम्ब्याउने तयारी सरकारले गरेको छ।

सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको उक्त आयोगको म्याद सोमबार अपराह्न ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकबाट तेस्रो पटक थपिने सम्भावना रहेको छ।

सरकारले गत असोज ५ गते जेनजी आन्दोलनका क्रममा भएको बल प्रयोगलगायत घटनाको अनुसन्धानका लागि विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। आयोगलाई सुरुमा तीन महिनाको समयसीमा तोकिएको थियो।

निर्धारित अवधिमा प्रतिवेदन तयार हुन नसकेपछि पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद एक महिना थप गरेको थियो। त्यसपछि पनि काम पूरा नभएपछि माघ ८ गते पुनः २० दिन समय थप्ने निर्णय गरिएको थियो।

उक्त म्याद बुधबार (माघ २८ गते) समाप्त हुँदैछ। सो अवधिभित्र पनि प्रतिवेदन तयार हुन नसकेपछि सरकारले फेरि म्याद थप्न लागेको हो। यद्यपि, थपिने समयावधि कति हुने भन्ने विषयमा अझै निर्णय भइसकेको छैन।

पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा रहेको आयोगमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्यका रूपमा रहेका छन्।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनामा ७६ जनाको ज्यान गएको थियो।

तपाईको प्रतिक्रिया