जेनजी आन्दोलनका दोषी कारबाहीको दायरामा आउँछन्: सञ्चार  मन्त्री खरेल


काठमाडौँ।सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा भएका घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही हुने स्पष्ट पारेका छन्।

आइतबार नेपाल पत्रकार महासंघको सञ्चारग्रामस्थित कार्यालयमा आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री खरेलले आन्दोलनमा घुसपैठ गराई गरिएको तोडफोड तथा आगजनीजस्ता घटनामा संलग्न देखिएकालाई कानुनी दायरामा ल्याउने सरकारको प्रतिबद्धता रहेको बताए।

उनले आगामी फागुन २१ गते तोकिएको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरिने जानकारी दिए। राजनीतिक दलहरूसँगको संवाद पुनः स्थापित भइसकेकाले निर्वाचनमा सबै दलको सहभागिता सुनिश्चित हुने विश्वाससमेत व्यक्त गरे।

मन्त्री खरेलले वर्तमान सरकारले ६ महिनाभित्र जनताले अनुभूत गर्नसक्ने गरी सुशासनको अभ्यास सुरु गर्ने र भ्रष्टाचार नियन्त्रणतर्फ प्रारम्भिक कदम चालिने जानकारी दिए। साथै, मुलुक अझै जोखिमपूर्ण स्थितिमा रहेको उल्लेख गर्दै राष्ट्रलाई अस्थिरतातर्फ जान नदिन सबै पक्ष गम्भीर बन्नुपर्नेमा उनले जोड दिए।

उनले अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण प्रक्रिया सूचना विभागमार्फत सम्भवतः तिहारअघि नै सुरु हुने जानकारी दिए। पत्रकारहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने विषयमा मन्त्रालयले आवश्यक तयारी गरिरहेको समेत मन्त्री खरेलले बताए।

तपाईको प्रतिक्रिया