जुम्ला–कालीकोट तिला जलविद्युत् आयोजना: स्थानीय रोजगार र आम्दानी बढ्ने अपेक्षा

जुम्ला,– जुम्लाको तिला गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने ३८.०७ मेगावाट क्षमताको तिला जलविद्युत् आयोजनाको लागि करिब सात अर्ब रुपैयाँ खर्च हुने भएको छ। तिला गाउँपालिका–१ र–७ तथा तिलागुफा नगरपालिका–१, २, ३, ४ र ९ को प्रभावित क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमाथि आयोजित सार्वजनिक सुनुवाइमा आयोजनाका परामर्शदाता तथा वातावरणविद् सुरेन्द्रदेव भट्टले जानकारी दिनुभयो।

यस आयोजनाको सम्भाव्यता अध्ययन चार वर्ष अघि सम्पन्न भइसकेको छ। प्रस्तावित आयोजनामा तिला नदीको पानी प्रयोग गरी ‘डिजाइन डिस्चार्ज’ ५२.५१ घनमिटर प्रति सेकेन्डको दरले विद्युत् उत्पादन गर्ने योजना छ।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गत विद्युत् विकास विभागले २०७८ सालमा योजनाको नापजाँच स्वीकृत गरेको हो। तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाका अनुसार, आयोजनाले रोजगार, रोयल्टी, सेयर, सामुदायिक सहयोग कार्यक्रम र स्थानीय व्यापार व्यवसायमार्फत आम्दानीमा वृद्धि गर्ने अपेक्षा गरिएको छ।

प्रस्तावित आयोजनामा तिला नदीमा सात मिटर उचाइको बाँध निर्माण गरी ‘साइड इण्टेक गेट’ मार्फत पानीलाई ग्राभेल ट्र्यापमा पठाइनेछ। त्यसपछि सर्ज साफ्टबाट पानी २८९ मिटर लामो स्टिल पेनस्टक पाइपमार्फत ३६ मिटर लम्बाइ, १६ मिटर चौडाइ र ३२ मिटर गहिराइ भएको अर्धसतही विद्युत्गृहमा पु¥याइनेछ। यसबाट ३८.०७ मेगावाट विद्युत् उत्पादन गरिने विद्युत् विकास विभागका उपसचिव गोपिप्रसाद शाहले जानकारी दिनुभयो।

उत्पादन भएको विद्युत् १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत जुम्ला बजारको सबस्टेसनमा जोडिनेछ। विद्युत् गृहबाट पानी २५ मिटर लामो टेलरेस टनेलमार्फत पुनः तिला नदीमा फर्काइनेछ।

आयोजनाका सबै संरचना तिला नदीको बायाँ किनारमा निर्माण हुनेछन्। कुल लागत करिब सात अर्ब ५६ करोड ७४ लाख ३७ हजार रुपैयाँ अनुमान गरिएको छ।

यस आयोजनाको लागि ७.५८५ हेक्टर जग्गा आवश्यक पर्छ, जसमा वन क्षेत्रको जग्गा ४.७७२ हेक्टर र निजी जग्गा २.८१३ हेक्टर रहेको छ। निर्माण अवधिमा स्थानीय ३०–३२० जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् र स्थानीयलाई विशेष प्राथमिकता दिइनेछ। यस अवधिमा स्थानीय व्यवसायबाट पनि आम्दानी वृद्धि हुने अपेक्षा गरिएको छ, तिला गाउँपालिका–७ का वडाध्यक्ष खुम्बिलाल रोकायाले जानकारी दिनुभयो।

विद्युत् गृह समुद्री सतहबाट २,०३० मिटर र १,९४५ मिटर उचाइमा रहनेछ। आयोजना निर्माण र सञ्चालनबाट कुल ३४ घरधुरी प्रत्यक्ष प्रभावित हुने देखिएको छ। प्रत्यक्ष प्रभावित घरधुरीको विवरण सम्बन्धित वडा कार्यालयमा सार्वजनिक गरिएको छ। अध्ययन अवधि पूरा भएपछि निर्माण कार्य अगाडि बढ्नेछ।

तपाईको प्रतिक्रिया