जुम्लाको दुर्गम गाउँ सडक सञ्जालमा जोडियो

जुम्लाको दुर्गम गाउँ सडक सञ्जालसँग जोडिएको छ। हालै सम्पन्न गरिएको ग्रामीण सडक निर्माणपछि जुम्लाका आठवटै स्थानीय तहका ६० भन्दा बढी स्थान राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन्।

तिला गाउँपालिका १ रारामा तिला नदीमाथि मोटरेबल पक्की पुलको निर्माणपछि तिला गाउँपालिका ६, ७, ८ र ९ वडामा सडकको पहुँच पुगेको हो। यसका कारण यहाँका दुर्गम गाउँहरू लामो समयपछि सडक सञ्जालसँग जोडिएका छन्। तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले यो जानकारी दिए।

अब यहाँका सबै वडामा कच्ची (अफरोड) सडकको निर्माणसँगै सार्वजनिक यातायात सेवा सुरु भएको छ। यसअघि जुम्लाको सदरमुकाम खलंगा हुँदै कर्णाली राजमार्ग जुम्ला-नाग्म सडकखण्ड र नाग्म-गमगढी मुख्य सडकमा मात्रै सार्वजनिक यातायात चल्ने गर्दथे।

तर अब यहाँका ग्रामीण क्षेत्रमा पनि सार्वजनिक यातायातका साधन सञ्चालन गर्न थालिएको छ। नमस्ते हिमचितुवा यातायात प्रालिले खलंगा हुँदै पालिकाका ग्रामीण भेगका स्थानहरू, जस्तै कुडारीको डुग्री, रारालिही, मानेचौर र राँसा मालापानीसम्म सार्वजनिक यातायात सेवा सञ्चालन गर्दै आएको छ।

तपाईको प्रतिक्रिया