जाँचबुझ आयोगले रास्वपा सभापति रवि लामिछानेसँग बयान लिन तयारी


काठमाडौं ।सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिने तयारी गरेको छ।

आयोगका स्रोतका अनुसार सम्भव भएसम्म आजै लामिछानेसँग बयान लिइने योजना बनाइएको छ। सहकारी बचतसम्बन्धी अपचल मुद्दामा लामिछाने अहिले नख्खु कारागारमा पुर्पक्षका लागि रहेका छन्।

गत भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा लामिछाने कारागारबाट बाहिर निस्केका थिए र केही समयपछि पुनः नख्खु कारागार फर्किएका थिए।

पूर्वन्यायाधीश कार्की नेतृत्वको आयोगले यसअघि कारागार प्रमुख सत्यराज जोशी, त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरूसँग पनि बयान लिइसकेको छ। आयोगका अनुसार अब लामिछानेसँग पनि सोही विषयमा थप विवरण मागिनेछ।

लामिछानेले त्यसबेला आफूलाई कारागार प्रशासनले पत्र दिएर बाहिर निकालेको दाबी गरेका थिए। तर आयोगमा दिएको बयानमा कारागार प्रमुख जोशीले उक्त पत्र आफूले नदिएको स्पष्ट पारेका छन्।

जोशीले लामिछानेका समर्थकहरूले आफैं पत्र तयार गरी छाप लगाएको र आफूलाई समेत धम्की दिएको बताएका छन्। आयोग स्रोतका अनुसार उनले यस सम्बन्धमा केही गम्भीर विवरणहरू पनि प्रस्तुत गरेका छन्।

लामिछानेले जेलबाट बाहिरिएपछि सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै आफू जबरजस्ती कारागारबाट बाहिर निकालिएको दाबी गरेका थिए। उनका अनुसार कारागार प्रशासनले भीड बढेपछि सुरक्षाका कारण आफूलाई बाहिर पठाएको थियो।

लामिछानेले आफूले नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूलाई पनि सो विषयमा जानकारी गराएको बताएका छन्। उनका अनुसार, सुरक्षा कारणले कारागार प्रशासनले यस्तो निर्णय गरेको हुनसक्छ भन्ने अनुमान उनले सार्वजनिक रूपमा व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया