जाँचबुझ आयोगको रिपोर्ट सार्वजनिक गर्न दबाब बढ्यो, चितवनमा मौन प्रदर्शन

चितवन — जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै चितवनमा युवाहरूले धर्ना दिएका छन्।

बिहीबार बिहान करिब साढे ८ बजे जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएका उनीहरूले शान्तिपूर्ण रूपमा विरोध जनाएका हुन्। भदौ २३ र २४ गते सम्पन्न आन्दोलनबारे गठन गरिएको आयोगको प्रतिवेदन सार्वजनिक गर्न उनीहरूले जोड दिएका छन्।

पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तयार पारिएको प्रतिवेदन हालसम्म सार्वजनिक नगरिएको भन्दै प्रदर्शनकारीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। ‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर’ भन्ने नारासहित उनीहरूले केही समय मौन प्रदर्शनसमेत गरेका थिए।

आन्दोलनका संयोजक सापकोटाका अनुसार सरकार पारदर्शी बन्नुपर्ने, दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने र पीडितलाई न्याय दिलाउनुपर्ने माग राखिएको छ।

प्रदर्शनकारीहरूले प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै आफ्ना मागहरू सम्बोधन नभए थप कडा आन्दोलनमा जाने चेतावनी दिएका छन्।

यसैबीच, जेनजीसँग सम्बन्धित समूहहरूले पछिल्ला पाँच दिनदेखि काठमाडौंको माइतीघर क्षेत्रमा पनि विरोध प्रदर्शन जारी राखेका छन्।

तपाईको प्रतिक्रिया