जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं — उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो।

सरकारमा सहभागी हुने चर्चा चलिरहेको अवस्थामा जसपा नेपालको यो निर्णयले राजनीतिक परिस्थिति थप जटिल बनेको छ। केही दिनअघि मात्रै प्रधानमन्त्री ओलीले जसपा नेपालका अध्यक्ष यादवसहित सत्तारुढ दलका शीर्ष नेताहरूसँग छलफल गरेका थिए। उक्त छलफलमा जसपालाई सरकारमा सहभागी गराउने प्रस्तावसमेत गरिएको भनिएको थियो।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गत असार ३० गते एक वर्ष पूरा गरेको थियो। यसअघि नागरिक उन्मुक्ति पार्टीले पनि सरकारले दिएको समर्थन फिर्ता लिएको थियो। नागरिक उन्मुक्ति पार्टीबाट सरकारमा सहभागी भएका पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीले राजीनामा दिएका छन्, तर प्रधानमन्त्री ओलीले अहिलेसम्म त्यो राजीनामा स्वीकृत गरेका छैनन्।

स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसँग छलफल गरी पार्टीलाई फेरि सरकारमा सहभागी गराउन आग्रह गरेका थिए।

तपाईको प्रतिक्रिया