जसपाको समर्थन फिर्तासँगै राष्ट्रिय सभामा ओली सरकार अल्पमतमा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई जनता समाजवादी पार्टी (जसपा) नेपालले दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको संसदीय दलको बैठकले सरकारप्रति समर्थन फिर्ता गर्ने निर्णय गरेको जसपा नेपालका सांसद प्रकाश अधिकारीले जानकारी दिए।

सांसद अधिकारीका अनुसार सरकारप्रति बारम्बार उठाइएका राजनीतिक तथा नीतिगत विषयहरूमा सकारात्मक प्रतिक्रिया नआएको, भ्रष्टाचार र कुशासन बढ्दै गएको तथा संविधान संशोधन जस्ता मूल मुद्दाहरूमा कुनै प्रगति नदेखिएपछि समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको हो।

“सरकारले गरेका गलत निर्णयहरूको अपजस समर्थन दिने दलमाथि पनि आइपरेको छ। दलहरूले उठाएका एजेन्डामा कुनै सम्बोधन छैन। यस्तो अवस्थामा समर्थन दिएर बसिरहनुको तुक छैन,” अधिकारीले भने।

त्यसैगरी, जसपा नेपालले पूर्ववर्ती भूमि अध्यादेशको विरोध गर्दै आएको थियो। तर हाल संसदमा प्रस्तुत विधेयकमा त्यही विवादास्पद प्रावधानहरू यथावत राखिएको भन्दै पार्टी असन्तुष्ट बनेको थियो।

राष्ट्रिय सभामा सरकार अल्पमतमा

प्रतिनिधिसभामा जसपा नेपालका पाँच सांसद छन्, जसको समर्थन फिर्ताले तत्काल प्रभाव नपरे पनि राष्ट्रिय सभामा भने सरकार अल्पमतमा परेको छ। राष्ट्रिय सभामा जसपाका तीन सांसदहरूले समर्थन फिर्ता लिँदा सत्तापक्षको संख्या घटेर २८ मा सीमित भएको छ।

५९ सदस्यीय राष्ट्रिय सभामा अब विपक्षमा ३० सांसद पुगेका छन्। तीमध्ये माओवादी केन्द्रका १७, एकीकृत समाजवादीका ८, जसपा नेपालका ३, जनमोर्चाका १ र एक जना मनोनीत सांसद छन्। यस्तो अवस्थामा राष्ट्रिय सभामा विधेयक पारित गर्न सरकारलाई कठिन हुने देखिएको छ।

यद्यपि, प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भने छैन। संविधानको धारा १००(२) अनुसार, सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको खण्डमा मात्रै ३० दिनभित्र विश्वासको मत लिइनुपर्ने व्यवस्था छ।

राजनीतिक स्थायित्वमाथि प्रश्न

जसपा नेपालको समर्थन फिर्ताले वर्तमान सरकारको राजनीतिक हैसियत कमजोर बनेको छ। प्रमुख विधेयकहरू पारित गर्न आवश्यक समर्थन जुटाउन सकस हुने भएकाले आगामी दिनमा सरकारको कार्यक्षमता र नीति कार्यान्वयन प्रक्रियामा असर पर्न सक्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया