जर्मनीबाट उडेको विमान १० मिनेटसम्म पाइलटबिनै

काठमाडौं । जर्मनीको फ्र्याङ्कफर्टबाट स्पेनको सेभिलतर्फ उडेको लुफ्थान्सा एयरलाइन्सको एक विमान झण्डै १० मिनेटसम्म पाइलटबिनै आकाशमा उडेकाे खुलासा भएको छ।
२०० यात्रु सवार सो विमानमा यस्तो जोखिमपूर्ण घटना गत वर्ष फेब्रुअरी २०२४ मा भएको भए पनि हाल मात्र यसको विस्तृत विवरण सार्वजनिक भएको हो।

स्पेनिस उड्डयन अनुसन्धानकर्ताहरूको प्रतिवेदन अनुसार विमानका क्याप्टेन शौचालय गएका बेला को–पाइलट अचानक अचेत भएका थिए। जब क्याप्टेन फर्किएर ककपिटमा छिर्न खोजे, सुरक्षा प्रणालीमार्फत प्रवेश गर्न सकेनन्।

इमरजेन्सीको बीचमा १० मिनेटको जोखिम

विमानको ककपिटको ढोका खोल्न पाँचपटक प्रयास गरे पनि असफल भएपछि एक उड्डयन परिचारिकाले इन्टरकममार्फत को–पाइलटलाई सम्पर्क गर्ने प्रयास गरिन्, तर कुनै जवाफ आएन। यसबीचमा विमान लगभग १० मिनेटसम्म नियन्त्रणबाहिर रह्यो।

त्यसपछि को–पाइलट होशमा आएपछि मात्रै क्याप्टेनले ककपिट प्रवेश गर्न सकेका थिए। को–पाइलटका अनुहार फिक्का, शरीर पसिनाले भिजेको, र उनी हल्लिँदै गरेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

विमानमा सवार एक चिकित्सकको सहयोगमा तत्काल प्राथमिक उपचार गरिएपछि, क्याप्टेनले विमानलाई म्याड्रिड एयरपोर्टमा आकस्मिक अवतरण गराएका थिए।

गम्भीर स्वास्थ्य समस्या कारण

अनुसन्धानकर्ताहरूका अनुसार को–पाइलटको अचेत हुने अवस्था न्यूरोलोजिकल डिसअर्डर का कारण उत्पन्न भएको थियो, जुन स्ट्रोकजस्तो गम्भीर जोखिम लिएर आउन सक्ने बताइएको छ।

एउटा गम्भीर सन्देश : सुरक्षा नीतिको पुनरावलोकन आवश्यक

घटनापछि अनुसन्धानकर्ताहरूले युरोपेली युनियन एभिएसन सेफ्टी एजेन्सी (EASA) लाई यस्तो घटना सबै एयरलाइन्सलाई जानकारी गराउन सिफारिस गरेका छन्।
विशेषगरी, ककपिटमा एक्ला पाइलट रहनु कत्तिको जोखिमपूर्ण हुन सक्छ भन्ने विषयमा गम्भीर पुनरावलोकन आवश्यक भएको प्रतिवेदनमा उल्लेख छ।

लुफ्थान्सा एयरलाइन्सले यसबारे कुनै टिप्पणी दिएको छैन।

तपाईको प्रतिक्रिया