जनमत पार्टी अध्यक्ष राउतको आग्रह : फागुन २१ मै निर्वाचन हुनुपर्छ

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले प्रतिनिधि सभा सदस्य निर्वाचन फागुन २१ गतेमै हुनुपर्ने बताएका छन्।

पार्टी कार्यालयमा सरकारको राजनीतिक संवाद समितिसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राउतले सरकारको कदमलाई सकारात्मक रूपमा लिएको र चुनावमा सहभागी हुने निर्णय शुरुदेखि नै तय गरिएको बताए।

उहाँले जेन-जी आन्दोलनको मर्म अनुसार काम हुनुपर्ने र नयाँ जनादेश लिनुपर्नेमा जोड दिनुभयो। साथै, भागेका कैदी र फेला नपरेका हतियारको विषय मात्रै नभई समाजमा फैलिएको त्रासको सामना गर्न सक्ने अवस्था निर्माण गर्न सरकारले पहल गर्नुपर्ने उल्लेख गर्नुभयो।

अध्यक्ष राउतले भने, “सरकारको कदमलाई हामीले सकारात्मक दृष्टिले हेरिरहेका छौँ। निर्वाचनमा सहभागी हुने निर्णय शुरुदेखि नै गरिसकेका छौँ। फागुन २१ गते निर्वाचन अनिवार्य छ। आन्दोलनको मर्मलाई सम्मान गर्नुपर्छ र नयाँ जनादेश लिनुपर्छ। मूलतः भागेका कैदी वा फेला नपरेका हतियारको विषय मात्रै होइन, समाजमा फैलिएको अराजकताको सामना गर्न सरकारसँग कुरा भएको छ।”

उहाँले निर्वाचन सुरक्षित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न सरकारले सुरक्षाको उचित व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिनुभयो।

तपाईको प्रतिक्रिया