जनमत पार्टीले चुनावी समीक्षा बैठक बोलायो

काठमाडौँ । फागुन २१ गते सम्पन्न चुनावको समीक्षा गर्न डा. सिके राउत नेतृत्वको जनमत पार्टीले दुई चरणमा बैठक आयोजना गर्ने भएको छ।

पार्टीले पहिलो चरणमा केन्द्रीय सचिवालयसँग बैठक गर्नेछ भने दोस्रो चरणमा उम्मेदवार र पर्यवेक्षकहरूसँग छुट्टाछुटै अनलाइन छलफल गर्ने तयारी गरेको छ। भर्चुअल बैठकमा चुनावी अनुभव, निर्वाचन रणनीति र आगामी कार्यदिशाबारे विस्तृत छलफल हुनेछ।

पार्टीका अनुसार केन्द्रीय सचिवालयको बैठक आज बिहान बस्नेछ। त्यसपछि उम्मेदवार र पर्यवेक्षकहरूसँगको भर्चुअल बैठकमा उनीहरूले निर्वाचनमा सहभागी अनुभव तथा परिस्थितिबारे रिपोर्ट प्रस्तुत गर्नेछन्।

यसैगरी, भोलि केन्द्रीय समितिको विस्तारित बैठक बोलाइएको छ। बिहान ११ः०० बजेबाट सुरु हुने उक्त बैठक भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ। बैठकमा केन्द्रीय समिति सदस्य, राष्ट्रिय परिषद्का सदस्य र प्रदेश समन्वय समितिका प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ।

बैठकमा हालै सम्पन्न निर्वाचनको समग्र समीक्षा, संगठनको अवस्था, चुनावी रणनीति र आगामी राजनीतिक कार्यक्रमबारे छलफल हुनेछ। साथै निर्वाचनबाट प्राप्त अनुभवको आधारमा पार्टीको आगामी कार्यदिशा निर्धारण गर्ने विषयमा पनि निर्णय हुन सक्ने जनाइएको छ।

तपाईको प्रतिक्रिया