जनमत पार्टीका निलम्बित कोषाध्यक्ष यादवलाई पाँच लाख धरौटीमा रिहा गर्ने आदेश

काठमाडौं । ललितपुर जिल्ला अदालतले जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतका न्यायाधीश टेकराज जोशीको इजलासले उक्त आदेश दिएको हो।

यादवलाई प्रहरीले २०७९ साल वैशाख ७ गते सप्तरीबाट ठगी अभियोगमा पक्राउ गरेको थियो। जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार धरौटी बुझाउने प्रक्रिया अघि बढेकाले प्रक्रिया पूरा भएपछि यादव रिहा हुनेछन्।

झन्डै दुई करोड बिगो असुल माग

यादव र उनकी पत्नी ललिताकुमारी यादवविरुद्ध जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले दिएको जाहेरीका आधारमा १ करोड ८५ लाख १ हजार रुपैयाँ बिगो असुल गर्नुपर्ने मागसहित ठगी सम्बन्धी मुद्दा दायर गरिएको हो।

इमाडोलको घरबाट सुरु भएको विवाद

मुद्दाको जग ललितपुरको इमाडोलस्थित एक घरसँग सम्बन्धित रहेको बताइएको छ। उक्त घर महालक्ष्मी नगरपालिका–४, इमाडोलस्थित कित्ता नम्बर ९४३ मा रहेको १४३.१२ वर्गमिटर (साढे चार आना) क्षेत्रफलमा फैलिएको तीन तले, आठ कोठे घर हो। सो घर शिवा आलेको नाममा दर्ता रहेको छ।

जनमत पार्टीभित्रको आन्तरिक आर्थिक विवाद यही घरको खरिद–बिक्री र स्वामित्वसँग जोडिएको देखिन्छ।

तपाईको प्रतिक्रिया