जगदीश खरेलको चुनौती : म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु

काठमाडौं ।स्मार्ट टेलिकम प्रकरणमा आफ्नो नाम जोडिएको विषयमा जगदीश खरेलले कडा प्रतिक्रिया दिएका छन्। उनले आफूविरुद्ध लगाइएका आरोप प्रमाणित गर्न चुनौती दिँदै प्रमाण नभए गलत सूचना फैलाउने पक्षले नै जिम्मेवारी लिनुपर्ने बताएका हुन्।

सार्वजनिक अभिव्यक्तिका क्रममा खरेलले स्मार्ट टेलिकम प्रकरणसँग आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे। यदि उक्त प्रकरणमा आफू जोडिएको प्रमाण भेटिए राजनीतिक जीवनबाट सधैंका लागि अलग हुने घोषणा समेत उनले गरे। “स्मार्ट टेलिकम प्रकरणमा मैले कुनै मिटिङ गरेको, फाइल पारित गरेको वा मन्त्रालय तथा सम्बन्धित निकायसँग कुनै बैठक बसेको प्रमाण छ भने म राजनीतिक जीवनबाटै बिदा लिन तयार छु,” खरेलले भने।

उनले सञ्चारमाध्यमलाई तथ्य र प्रमाणका आधारमा मात्रै समाचार सम्प्रेषण गर्न आग्रह गर्दै आधारहीन आरोपले व्यक्ति र राजनीतिक जीवनमा गम्भीर असर पर्ने बताए। साथै, तथ्य पुष्टि गर्न नसके गलत समाचार प्रकाशन गर्ने पक्षले पनि जिम्मेवारी वहन गर्नुपर्ने उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया