चैत १ गतेदेखि राष्ट्रवादी अभियान सुरू गर्ने घोषणा: डा. धवलशमशेर राणा

काठमाडौँ — राप्रपाका महामन्त्री डा. धवलशमशेर राणाले आगामी चैत १ गतेदेखि व्यापक राष्ट्रवादी आन्दोलन सुरु गरिने घोषणा गरेका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले राजसंस्था पुनःस्थापनाको उद्देश्यसहित राष्ट्र, धर्म र संस्कृतिको संरक्षणका लागि यो आन्दोलन सुरु गर्न लागिएको जानकारी दिएका हुन्।

उनले भने, “अब राष्ट्र, धर्म र संस्कृतिको रक्षा तथा स्वाभिमानयुक्त नेपाल निर्माणका लागि चैत १ गतेदेखि बृहत् राष्ट्रवादी आन्दोलन प्रारम्भ हुँदैछ। सनातन धर्म र राजसंस्थाको पक्षमा ऐक्यबद्धता जनाउन सबै राष्ट्रप्रेमी नेपाली नागरिकलाई सक्रिय सहभागिताको लागि आग्रह गर्दछु।”

डा. राणा, जो राप्रपाको आन्दोलन परिचालन समितिका संयोजक पनि हुन्, उनले हालै पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको उल्लेख गरेका छन्। राप्रपाले यसअघि पनि काठमाडौँसहित विभिन्न सहरहरूमा आन्दोलनको तयारीस्वरूप प्रदर्शनहरू सञ्चालन गर्दै आएको छ।

तपाईको प्रतिक्रिया