चीन जाँदै अर्थमन्त्री,मन्त्रिपरिषद्को ११ महत्वपूर्ण निर्णय सार्वजनिक


काठमाडौं, जेठ २६ — सरकारले हालै सम्पन्न मन्त्रिपरिषद् बैठकका ११ निर्णयहरू सार्वजनिक गरेको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।

बैठकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई २०८२ असार १० गतेदेखि १२ गतेसम्म चीनको बेइजिङमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंक (AIIB) को बोर्ड अफ गभर्नर्सको वार्षिक बैठकमा सहभागी हुन स्वीकृति दिएको छ।

त्यस्तै, २०८२ असार २ गतेदेखि ६ गतेसम्म तिब्बतको ल्हासामा आयोजना हुने नेपाल–चीन सिजाङ (तिब्बत) व्यापार सहजीकरण समितिको १३औं बैठकका लागि छलफलको कार्यसूची (एजेन्डा) स्वीकृत गर्ने निर्णय भएको छ। सो बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि गरिएको प्रवक्ता गुरुङले जानकारी दिए।

मन्त्रिपरिषद बैठकले निर्माण व्यवसायीसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, नेपाल स्वास्थ्य सेवा अन्तर्गत अधिकृत बाह्रौं तहको अतिरिक्त स्वास्थ्य सचिव पदमा डा. केशर बहादुर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई बढुवा गर्ने निर्णय पनि बैठकले गरेको छ।

तपाईको प्रतिक्रिया