चीनले १२५ प्रतिशत करबाट छुट पाउने अमेरिकी उत्पादनहरूको सूची बनाउँदै

काठमाडौं: चीनले अमेरिकी उत्पादन भएका केही वस्तुहरूलाई लाग्ने १२५ प्रतिशत आयात करमा छुट दिने सूची तयार गर्दैछ। स्रोतका अनुसार, चिनियाँ सरकारले यसबारे कम्पनीहरूलाई गुपचुप सूचना दिएको समाचार संस्था रोयटर्सले जनाएको छ। यस कदमको उद्देश्य अमेरिकासँगको व्यापार युद्धको प्रभावलाई कम गर्नु रहेको बताइएको छ।

चीनले पहिल्यै केही विशिष्ट वस्तुहरू जस्तै फार्मास्युटिकल, माइक्रोचिप, र एयरक्राफ्ट इन्जिनमा कर छुट प्रदान गरेको छ। अब कम्पनीहरूलाई आयात कर छुट दिनुपर्ने अन्य आवश्यक वस्तुहरूको सूचीका बारेमा सुझाव मागिएको छ।

हालै चीनले सार्वजनिक रूपमा भनेको छ कि अमेरिकाले १४५ प्रतिशत आयात कर हटाएन भने आफू डटेर लड्नेछ। यद्यपि, चीनले गोप्य रूपमा आफ्नो नीति लागू गरिरहेको छ र यसबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।

सूचीमा समावेश गरिएका वस्तुहरू कुन र कति छन् भन्ने बारे अझै अस्पष्टता रहेको छ। सरकारले व्यक्तिगत रूपमा आयात कम्पनीहरूलाई सम्पर्क गर्दै उक्त वस्तुहरूको वर्गीकरण सूचीका बारेमा जानकारी दिएको स्रोतले बताएको छ।

शांघाई पुडोङ सरकारले सोमबार आफ्ना कम्पनीलाई यस बारेमा जानकारी दिएको थियो। यस अघि उक्त कम्पनीले अमेरिकाबाट आवश्यक प्रविधि प्राप्त गर्नका लागि शुल्क छुटको लागि आग्रह गरेको थियो।

अर्को एक स्रोतका अनुसार, चीनले केही कम्पनीहरूलाई सरकारी अधिकारीहरूसँग व्यक्तिगत रूपमा सम्पर्क गर्न लगाएर आफ्नो आयातित वस्तुहरू छुटको योग्य छन् कि छैन थाहा पाउन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया