चितवनमा पौडी पोखरीमा मृत्यु भएको घटनामा आठ जना युवाहरु प्रहरी नियन्त्रणमा


चितवन — भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको पौडी पोखरीमा डुबेर मृत्यु भएको घटनामा संलग्न भनिएका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, मंगलबार राति इच्छाकामना गाउँपालिका–७, दाहाखानीस्थित ‘दाहाखानी भ्यू रिसोर्ट’को पौडी पोखरीमा महतो डुबेको अवस्थामा फेला परेका थिए।

उक्त रिसोर्टमा आफ्ना साथीसँग पौडी खेल्न गएका महतोको मृत्यु भएपछि घटनाबारे थप अनुसन्धान गर्न उनका आठ जना साथीसँग बयान लिने प्रयोजनका लागि प्रहरी हिरासतमा लिइएको हो।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएकामध्ये भरतपुर–२२ का २२ वर्षीय सिमन थापा, प्रवीण घिमिरे, ५७ वर्षीय मेघलाल चुडाल, २६ वर्षीय दिपेश महतो, १९ वर्षीय शुबु खत्री, भरतपुर–१३ का २६ वर्षीय आदेश सुवेदी, भरतपुर–१४ का २९ वर्षीय आशिष शर्मा, र लमजुङ सुन्दरबजारका २६ वर्षीय नारायण बस्नेत रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया