चन्द्रगढी विमानस्थलको जहाज दुर्घटनाबारे दुई छुट्टाछुट्टै छानबिन समिति गठन

काठमाडौँ — झापाको चन्द्रगढी विमानस्थलमा भएको जहाज दुर्घटनाको छानबिनका लागि दुई फरक–फरक समितिमार्फत अनुसन्धान अघि बढाइने भएको छ। दुर्घटनाको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले आ–आफ्नो तर्फबाट अध्ययन गर्ने निर्णय गरेका हुन्।

काठमाडौँबाट चन्द्रगढीका लागि उडेको बुद्ध एयरको जहाज अवतरणका क्रममा धावनमार्गबाट बाहिरिएर दुर्घटनामा परेको थियो। सो घटनापछि मन्त्रालय र नियामक निकायले छुट्टाछुट्टै छानबिन समिति गठन गरेका हुन्।

मन्त्रालयका सहायक प्रवक्ता गोकर्णप्रसाद उपाध्यायका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार समिट एयरमा कार्यरत वरिष्ठ क्याप्टेन विनोद पुरीलाई अनुसन्धानकर्ताको जिम्मेवारी दिँदै मन्त्रालयस्तरीय छानबिन समिति गठन गरिएको छ। गैरसैनिक हवाई उडान नियमावली, २०७१ अनुसार क्याप्टेन पुरीले आवश्यक परेमा विभिन्न विषयगत विज्ञलाई समेटेर अनुसन्धान गर्नेछन्।

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि फ्लाइट सेफ्टी विभागका वरिष्ठ क्याप्टेन रूपकुमार सिद्धीको संयोजकत्वमा छानबिन समिति गठन गरिसकेको छ। प्राधिकरणस्तरीय समितिमा उपनिर्देशक मुकेश दाहाल, फ्लाइट सेफ्टी विभागका उपप्रबन्धक विधान श्रेष्ठ, सेफ्टी म्यानेजमेन्ट डिभिजनका प्रबन्धक लक्ष्मण देवकोटा तथा एरोड्रम सेफ्टीका उपप्रबन्धक योगेश पुडासैनी सदस्य रहेका छन्।

प्राधिकरणको समितिलाई निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णसमक्ष ३५ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने कार्यादेश दिइएको छ। समितिले दुर्घटनाको कारण पहिचान गर्नुका साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उड्डयन सुरक्षासम्बन्धी सुझावसमेत समेटेर प्रतिवेदन बुझाउनेछ।

तपाईको प्रतिक्रिया