ग्वार्को फ्लाइओभर असार पहिलो साताबाट सञ्चालनमा, निर्माण अन्तिम चरणमा

काठमाडौं — राजधानीको ग्वार्को क्षेत्रमा निर्माण भइरहेको फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाका अनुसार आगामी असारको पहिलो सातादेखि फ्लाइओभर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका इन्जिनियर प्रदीप भण्डारीका अनुसार कोटेश्वरतर्फको सडक कालोपत्रे सम्पन्न भइसकेको छ भने अहिले पेन्टिङ र लाइट जडानको काम भइरहेको छ। सातदोबाटो खण्डमा दोस्रो चरणको कालोपत्रे कार्य जारी छ।

‘पहिलो तहको कालोपत्रे सकिएको छ। मंगलबारदेखि दोस्रो तहको कालोपत्रे सुरु गरेका छौं। मौसमले साथ दिएमा चार–पाँच दिनभित्र काम सकिन्छ,’ भण्डारीले बताए। उनका अनुसार लक्ष्य जेठमै निर्माण सक्ने भए पनि वर्षाका कारण केही ढिलाइ भएको हो।

फ्लाइओभर निर्माणका लागि १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँ १ पैसाको लागतमा २०७८ फागुन १२ गते ठेक्का सम्झौता गरिएको थियो। आशीष–समानान्तर–रेलिगेर जेभीलाई EPC (इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन) मोडलमा ठेक्का दिइएको थियो, जसअनुसार डिजाइनदेखि निर्माणसम्मको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीको थियो।

३० मिटर स्पानको ४ लेन प्रिकास्ट गर्डर पुल र ५४० मिटर अप्रोच सडकसहितको एमएसई वाल निर्माण गरिने सम्झौता गरिएको थियो। सम्झौताअनुसार सडकमा १२ सेमी अलकत्रा, १५ सेमी डीबीएम, ३० सेमी बेस र ३० सेमी सबबेस रहने प्रावधान रहेको छ। साथै, ट्राफिक लाइट जडान पनि गर्ने उल्लेख गरिएको थियो।

तर, ठेक्का अवधिमा निर्माण कार्य सम्पन्न हुन नसक्दा तीनपटक म्याद थप गर्नुपर्‍यो। पहिलोपटक २०८० फागुन ११ सम्म, दोस्रोपटक २०८१ असार मसान्तसम्म र अन्तिमपटक २०८२ पुस ८ गतेसम्म म्याद थपिएको थियो। यद्यपि अन्तिम म्यादभित्र पनि निर्माण सक्न नसकिएपछि २०८२ पुस ९ गतेदेखि हर्जाना तिराएर काम अघि बढाइएको हो।

कुल ठेक्का रकमको ०.०५ प्रतिशत दैनिक हर्जाना दरअनुसार हालसम्म दैनिक करिब ८५ हजार रुपैयाँ बराबरको हर्जाना तिरिँदै आएको छ। कम्पनीले हालसम्म करिब १ करोड ७० लाख रुपैयाँ बराबरको हर्जाना तिर्नुपर्ने अवस्था आएको छ।

गत माघमा सातदोबाटोतर्फको आरई वालको प्यानल जडानमा प्राविधिक त्रुटि देखिएपछि करिब ४० मिटर प्यानल भत्काएर पुनः निर्माण गरिएको थियो। त्यसपछि सबबेस निर्माण गरेर हाल कालोपत्रे कार्य अन्तिम चरणमा पुर्‍याइएको छ।

आयोजनाका अनुसार केही दिनभित्र कालोपत्रे सम्पन्न गरी पेन्टिङ र अन्तिम तयारीपछि फ्लाइओभर सञ्चालनमा ल्याइनेछ।

तपाईको प्रतिक्रिया