ग्यास उद्योगीको आन्दोलन स्थगित

नेपाल एलपी ग्यास उद्योग संघले विभिन्न माग राखेर बिहीबारदेखि गर्ने भनिएको आन्दोलन स्थगित गरेको छ। आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलपछि संघले आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो।

उद्योगमन्त्री दामोदर भण्डारी, नेपाल आयल निगमका पदाधिकारी र संघका प्रतिनिधिहरू बीचको छलफलमा संघले उठाएका जायज मागहरू सम्बोधन गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको संघले जनाएको छ।

संघले आन्दोलन घोषणा गरेकोपछि मन्त्री भण्डारीले निगम र संघका पदाधिकारीलाई छलफलका लागि बोलाएका थिए र संघका मागहरूको समाधान गर्ने आश्वासन दिएका थिए।

संघले ग्यासको बजार मूल्य लागतअनुसार वृद्धि गर्नुपर्ने लगायतका माग राखेर आन्दोलनको घोषणा गरेको थियो। संघले ग्यासको मूल्य छ वर्षअघि समायोजन गरिएको मूल्यमा आधारित रहेको कारण घाटा बेहोर्नु परेको भन्दै मूल्य समायोजनको माग गर्दै आएको थियो।

यसैबीच, मन्त्रालयले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो। समितिको प्रतिवेदनको थप अध्ययन गर्न समय लाग्ने भएकाले संघको आन्दोलन १५ दिनका लागि स्थगित गरिएको आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया