गौशाला नगरपालिकाकी उपप्रमुखलाई कार्यालय प्रवेशमा अवरोध, मेयरको निर्देशनमा गेटमा तालाबन्दी


काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणुकुमारी महतोलाई मंगलबार कार्यालय प्रवेशमा रोक लगाइएको छ। नगरप्रमुख डा. दीपेन्द्र महतोको निर्देशनमा नगर प्रहरीमार्फत गेटमा तालाबन्दी गर्दै उपप्रमुखलाई कार्यालय बाहिरै रोकिएको बताइएको छ।

उपप्रमुख महतो कार्यालय पुग्दा गेटमा ताला लगाइएको अवस्थामा रहेको थियो। घटनाबारे प्रतिक्रिया दिँदै उनले आफू निर्वाचित जनप्रतिनिधि हुँदाहुँदै ‘गुण्डागर्दी शैलीमा’ कार्यालय प्रवेशमा अवरोध गरिएको आरोप लगाएकी छन्।

नगरप्रमुख महतोसँग पछिल्लो समय विभिन्न विषयमा विवाद चुलिँदै आएको थियो। सोही विवादकै कारण उपप्रमुखलाई कार्यालय जानबाट रोकिने अवस्था सिर्जना भएको बताइएको छ।

घटनास्थलमा तालाबन्दी भए पनि जिम्मेवार नगर प्रहरीहरू भने देखिएका थिएनन्। उपप्रमुख महतो केही समय गेटबाहिरै बसेकी थिइन्।

यस घटनाले स्थानीय तहमा जनप्रतिनिधिहरूबीचको आपसी सम्बन्ध र शक्ति–सन्तुलनमा प्रश्न उठाउँदै स्थानीय शासन प्रणालीप्रतिको गम्भीर चुनौती उजागर भएको विश्लेषण गरिएको छ।

तपाईको प्रतिक्रिया