गोलभेँडाको मूल्य घट्यो, एक दिनमै प्रतिकिलो ३० रुपैयाँसम्म कमी

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा गोलभेँडाको थोक मूल्यमा उल्लेख्य गिरावट आएको छ। बजार विकास समितिको पछिल्लो तथ्यांकअनुसार गोलभेँडाको मूल्य बुधबारको तुलनामा बिहीबार प्रतिकिलो ३० रुपैयाँसम्म घटेको देखिएको हो।

कालीमाटी बजारमा पाँच प्रकारका गोलभेँडा—भारतीय ठूलो, भारतीय सानो, लोकल सानो, तराई सानो र टनेल गोलभेँडा—उपलब्ध छन्। तीमध्ये भारतीय ठूलो गोलभेँडा प्रायः होटल तथा रेस्टुरेन्टहरूमा सलादको रूपमा प्रयोग हुन्छ भने साना गोलभेँडा दैनिक खानपानमा बढी प्रयोग गरिन्छ।

बिहीबार कालीमाटीमा विभिन्न गोलभेँडाको थोक मूल्य यसप्रकार छ:

  • भारतीय ठूलो: ६० – ७० रुपैयाँ प्रति किलो
  • भारतीय सानो: ४० – ४५ रुपैयाँ
  • लोकल सानो: ४५ – ५५ रुपैयाँ
  • टनेल गोलभेँडा: ५५ – ६० रुपैयाँ
  • तराई गोलभेँडा: ५० – ६० रुपैयाँ

यसअघि बुधबार भारतीय सानो गोलभेँडा ५५ – ६५, टनेल गोलभेँडा ८० – ९०, र लोकल सानो तथा तराई गोलभेँडा ७५ – ८५ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको थियो।

मूल्य घट्नुको कारणबारे समितिले औपचारिक विवरण नदिए पनि उत्पादन वृद्धि र आपूर्तिमा सहजता आउनुले मूल्यमा गिरावट आएको अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया