गोरखाको पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको शव फेला, तीन जना उद्धारपछि काठमाडौंमा उपचाररत

गोरखा — गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता रहेका दुई इटालियन आरोहीको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार पाङबारी हिमालको पहिलो शिविरमा ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोका शव हिउँले पुरिएको अवस्थामा भेटिएका हुन्।

फेला परेका दुवै आरोहीको शव हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएको प्रहरीले जनाएको छ।

गत बुधबारदेखि तीन इटालियन नागरिक र एक नेपाली सहयोगी पहिलो शिविर र आधार शिविरबीच अलपत्र परेका थिए। फरिनातो र गापुटो हिमाल आरोहणमा असफल भई फर्कने क्रममा परेको भीषण हिमपातका कारण अलपत्र परेका बताइएको छ।

सोही समूहका अन्य इटालियन नागरिक ६५ वर्षीय भेल्टर परलिनोलाई आइतबार हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो। उनका साथमा रहेका नेपाली सहयोगी पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङलाई पनि सोही दिन उद्धार गरी काठमाडौं लगिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए।

हाल उद्धार गरिएका सबै जनाको काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया