गोकुल बास्कोटाको प्रश्न– अन्तिमपटक मन्त्री भएको हो ? 

काठमाडौं – नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले सरकारका मन्त्रीहरूलाई प्रश्न गर्दै भनेका छन् कि तिनीहरूले अन्तिमपटक मन्त्री भएको हो कि ?

शुक्रबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै बास्कोटाले मन्त्रीहरूलाई क्षेत्रीय मामिलामा केन्द्रित नगर्न र समग्र देशको हितमा काम गर्न आग्रह गरे। उनले भने, “मन्त्री हुने साथीहरूसित दुःख छ, तपाईंहरू अन्तिमपटक मन्त्री भएको हो कि ? फर्केर आएपछि तपाईंहरूलाई सांसदको लहरमा देख्न पाइन्छ कि ? मेरो प्रश्न यही हो।”

उनले सत्तापक्षका मन्त्रीहरूलाई फोन गर्दा नउठ्ने र भेट्न गएका बेला नगमै फर्किने गरेको गुनासो पोख्दै भने, “फोन गर्दा फोन उठ्दैन, जाँदा मान्छे हुँदैन। कहाँ खोज्न जाउँ, टुकी बालेर ?”

सत्तापक्षका सांसदलाई विपक्षमा भोट हाल्न नसकिने भएकाले नीति र कार्यक्रमको पक्षमा मात्रै बोल्न सकिने टिप्पणी गर्दै बास्कोटाले आफ्नो गुनासो प्रकट गरे।

यसै क्रममा, बास्कोटाले राजावादी आन्दोलनको बारेमा पनि टिप्पणी गर्दै भने, “केही साथीहरू व्यवस्था बदल्न आन्दोलनमा हुनुहुन्छ, सरकार भनेको छ संविधान नै संशोधन गर्छु। अब आन्दोलन गर्नुको के अर्थ छ? यही भित्रबाट परिवर्तन आउँछ, नआए अर्को चुनावमा प्रयास गर्नुहोस्, बहुमत ल्याउनुहोस्। राजाको खोजी तासको बुकमा मात्रै हुनेछ।”

उनले लोकतन्त्रको विकल्प नभएको बताउँदै भने, “समाजलाई पछाडि फर्काउन सकिँदैन। लोकतन्त्र एक मात्र विकल्प हो, समयको बर्बादी नगर्नुस्।”

तपाईको प्रतिक्रिया