गुणस्तरहीन पानी उत्पादन गर्ने पाँच उद्योगमाथि चाँगुनारायण नगरपालिकाको प्रतिबन्ध

भक्तपुर,– चाँगुनारायण नगरपालिकाले झौखेल क्षेत्रमा सञ्चालित पाँच वटा खानेपानी उद्योगमाथि तत्काल प्रभावबाट पानी बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको छ।

नगरपालिकाको अनुगमन समितिको बैठकले खाद्य तथा गुणस्तरमा गम्भीर त्रुटि भेटिएको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो। समितिका संयोजक तथा नगर उपप्रमुख रमेश बुढाथोकीका अनुसार ती उद्योगमाथि कारबाही प्रक्रिया पनि अगाडि बढाइएको छ।

मानव स्वास्थ्यमा हानिकारक तत्व फेला

नगरपालिकाका अनुसार परीक्षणका क्रममा प्रतिबन्धित उद्योगहरूको पानीमा इकोली, कोलिफार्म, एमोनिया जस्ता स्वास्थ्यका लागि हानिकारक सूक्ष्मजीव भेटिएका छन्। “मानव उपभोगका लागि पूर्णतः अनुपयुक्त पानी उत्पादन भएकाले तत्काल प्रतिबन्ध लगाइएको हो,” उपप्रमुख बुढाथोकीले जानकारी दिए।

प्रतिबन्धित उद्योगहरू:

  1. जय छुमा गणेश खानेपानी
  2. ओके मिनिरल वाटर
  3. झौखेल खानेपानी
  4. कर्णाली खानेपानी
  5. भक्तपुर खानेपानी उद्योग

गत सोमबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकृष्ण श्रेष्ठ, अनुगमन समितिका सदस्यहरू, वडा अध्यक्ष श्यामसुन्दर धिमाल, विषयगत समितिका प्रतिनिधिहरूसहितको टोलीले स्थलगत निरीक्षण गरेको थियो। अनुगमनका क्रममा उत्पादन प्रक्रिया, सरसफाइ अवस्था, दर्ता र नवीकरणको स्थिति जाँच गरिएको थियो।

निरीक्षणमा गुणस्तरहीन पानी उत्पादन, सरसफाइमा लापरवाही, आवश्यक प्रमाणपत्र अभाव लगायतका गम्भीर त्रुटि फेला परेपछि पानीका नमुना संकलन गरी परीक्षण गरिएको थियो। रिपोर्ट आएपछि प्रतिबन्ध लगाइएको जनाइएको छ।

नगरपालिकाले आफ्नो निर्देशन अवज्ञा गर्ने उद्योगहरूलाई प्रचलित कानुनअनुसार कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

हाल झौखेल क्षेत्रमा ५० भन्दा बढी खानेपानी उद्योग सञ्चालनमा छन्।

तपाईको प्रतिक्रिया