गुठीचौर गाउँपालिकाले एक वर्षमा ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सिँजा (जुम्ला), — गुठीचौर गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा विभिन्न स्रोतबाट ३३ लाख ३९ हजार ४ सय ९० रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ।

गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाका अनुसार प्याराग्लाइडिङ शुल्कबाट मात्र ८ लाख ४४ हजार रुपियाँ राजस्व प्राप्त भएको हो। त्यस्तै, पशु शाखाबाट ७ लाख ८४ हजार ८ सय, मालपोत कार्यालयमार्फत रजिस्ट्रेशन बापत ३ लाख १३ हजार ९ सय ८१, डोजर सेवा शुल्कबाट ५ लाख ५९ हजार ५ सय र एम्बुलेन्स सेवाबाट ८१ हजार ३ सय रुपियाँ राजस्व सङ्कलन गरिएको छ।

गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत मायालक्ष्मी बुढाका अनुसार सबैभन्दा बढी राजस्व वडा नं. ५ बाट २ लाख ५८ हजार ५ सय ३१ रुपियाँ सङ्कलन भएको छ भने सबैभन्दा कम वडा नं. १ बाट ८२ हजार ७ सय ३० रुपियाँ उठाइएको छ।

त्यस्तै, वडा नं. २ बाट १ लाख १२ हजार ६ सय ५, वडा नं. ३ बाट १ लाख ५३ हजार ६ सय ८५ र वडा नं. ४ बाट २ लाख ६८ हजार ७ सय ६० रुपियाँ राजस्व सङ्कलन भएको पनि उहाँले जानकारी दिनुभयो।

गुठीचौर गाउँपालिकाले हालसम्म चालू आर्थिक वर्ष २०८२/८३ को कात्तिक १४ गतेसम्म कुल ९ लाख ९७ हजार ७ सय ६३ रुपियाँ राजस्व सङ्कलन गरिसकेको जनाएको छ।

तपाईको प्रतिक्रिया