गालवान झडपपछिको पहिलोपटक प्रधानमन्त्री मोदी चीन भ्रमणमा जाने

काठमाडौं, — सन् २०२० मा भएको गालवान उपत्यकाको झडपपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक चीन भ्रमणमा जान लागेका छन्।

उनी चीनको तिआन्जिन सहरमा आयोजना हुने शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन लागेका हुन्। एससीओ शिखर सम्मेलनमा मोदीको उपस्थिति भारत–चीन सम्बन्ध सुधार तथा क्षेत्रीय स्थायित्वका दृष्टिले महत्वपूर्ण मानिएको छ।

मोदीको यो भ्रमण सन् २०१९ पछि चीनतर्फको पहिलो सरकारी भ्रमण हो। यद्यपि उनले सन् २०२४ को अक्टोबरमा रुसमा आयोजित ब्रिक्स सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए।

यस भ्रमणको पृष्ठभूमिमा भारतमाथि रहेको अमेरिकी दबाब, रुससँग भारतको तेल कारोबार, र पाकिस्तानप्रति चीनको समर्थनजस्ता विषयहरू जोडिएका छन्। हालै भारतको पहलगाममा भएको आतंकवादी हमलापछि एससीओले कुनै प्रतिक्रिया नदिएको भन्दै भारतले आपत्ति जनाएको थियो। तर त्यसपछि चीनले उक्त आक्रमणको निन्दा गर्दै आतंकवादविरुद्ध कडा धारणा सार्वजनिक गरेको थियो।

सम्मेलनमा आतंकवाद, व्यापार, सुरक्षा लगायतका क्षेत्रीय मुद्दामा छलफल हुने अपेक्षा गरिएको छ। साथै प्रधानमन्त्री मोदीले चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने सम्भावना पनि छ।

हाल एससीओमा भारत, चीन, रूस, पाकिस्तान, इरान, बेलारुस, कजाखस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्बेकिस्तान गरी १० सदस्य राष्ट्र रहेका छन्।

तपाईको प्रतिक्रिया