गाजामा भोकमरीको अवस्था गम्भीर, ट्रम्पले सहायता दिने संकेत

वासिङ्टन डी.सी. । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा क्षेत्रका मानिसहरू गम्भीर भोकमरीको चपेटामा परिरहेको बताएका छन्। शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले गाजाको अवस्थाप्रति अमेरिकाले चासो लिएको र सहयोगका लागि तयार रहेको संकेत गरेका हुन्।

“हामी गाजालाई नियालिरहेका छौँ र यसको ख्याल राख्नेछौँ। धेरै मानिस भोकमरीमा छन्,” ट्रम्पले संक्षिप्त प्रतिक्रिया दिँदै भने। यो टिप्पणी उनको खाडी मुलुकहरूको भ्रमणको अन्तिम चरणमा आएको हो।

इजरायलले गाजामा दुई महिनाभन्दा बढी समयदेखि कडाईका साथ नाकाबन्दी लगाएको छ। यस नाकाबन्दीका कारण संयुक्त राष्ट्रसंघका एजेन्सीहरू र अन्य मानवीय संस्थाहरूले गाजाका करिब २४ लाख मानिससम्म इन्धन, औषधि र खाद्य सामग्री पुर्‍याउन गाह्रो भएको चेतावनी दिँदै आएका छन्।

यद्यपि इजरायलले गाजामा मानवीय संकट रहेको भन्ने दाबीलाई अस्वीकार गर्दै आएको छ।

ट्रम्पको टिप्पणी अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गाजामा मानवीय सहायता पुर्‍याउने नयाँ उपायहरूमा अमेरिकाको तयारी र लचिलोपन रहेको बताएका भोलिपल्ट आएको हो। अमेरिका र इजरायल समर्थित रणनीतिहरूको विश्वव्यापी आलोचना बढेसँगै गाजाको मानवीय अवस्थाले थप अन्तर्राष्ट्रिय ध्यान तानेको छ।


तपाईको प्रतिक्रिया