गाजामा इजरायली ट्याङ्कको गोलीबारीमा २६ को ज्यान गयो, १५० भन्दा बढी घाइते

काठमाडौं, जेठ १८ – गाजाको रफाह क्षेत्रमा इजरायली ट्याङ्कबाट भएको गोलाबारीमा कम्तीमा २६ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन्। मृतक र घाइतेहरू अधिकांश नागरिक रहेको जनाइएको छ।

स्थानीय पत्रकार मोहम्मद गरिबका अनुसार घटना अमेरिकी सहयोगमा सञ्चालित मानवीय राहत वितरण केन्द्र नजिकै भएको हो। उनका अनुसार ठूलो संख्यामा स्थानीय नागरिक सहायता लिनका लागि बिहानैदेखि केन्द्र नजिकैको अल–आलम स्क्वायर क्षेत्रमा जम्मा भएका थिए। त्यसै क्रममा इजरायली ट्याङ्कले भीडतर्फ गोली चलाएको बताइएको छ।

गोलाबारीपछि उद्धार कार्यमा कठिनाइ भएको जनाइएको छ। स्थानीयहरूले गम्भीर घाइते र मृतकहरूलाई गधा गाडाको सहायताले अल–मावासीस्थित रेडक्रस फिल्ड अस्पताल पुर्‍याएका थिए।

रेडक्रस फिल्ड अस्पतालले २६ जनाको मृत्यु पुष्टि गरेको छ भने १५० जना घाइतेको उपचार भइरहेको जनाएको छ।

बीबीसीले घटनासम्बन्धी आधिकारिक प्रतिक्रिया लिन इजरायली रक्षा बल (आईडीएफ)सँग सम्पर्क गरेको जनाएको छ, तर समाचार तयार पार्दासम्म कुनै प्रतिक्रिया प्राप्त नभएको उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया