गलवान झडपपछि पहिलो उच्चस्तरीय कूटनीतिक भेट, वाङ यी भारत जाँदै

काठमाडौं — भारतसँगको सीमामा लामो समयदेखि चलिरहेको तनाव कम गर्न चीनले उच्चस्तरीय कूटनीतिक पहल थालेको छ। त्यसैअन्तर्गत चिनियाँ विदेशमन्त्री वाङ यी भारत भ्रमणमा जाने तयारीमा छन्।

अन्तर्राष्ट्रिय समाचार संस्था ब्लुमबर्ग का अनुसार वाङको भ्रमण आगामी सातामा हुने अनुमान गरिएको छ। भ्रमणको उद्देश्य भारत–चीन सीमामा तैनाथ दुवै पक्षका सैनिक घटाउनेबारे छलफल गर्नु रहेको बताइएको छ।

यो विगत तीन वर्षयता चिनियाँ विदेशमन्त्रीको पहिलो भारत भ्रमण हुने छ। यद्यपि, भ्रमणको औपचारिक मिति र कार्यतालिका भने हालसम्म दुबै देशले सार्वजनिक गरेका छैनन्।

ब्लुमबर्गले जनाएअनुसार वाङको भ्रमणका क्रममा उनी भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभल र विदेशमन्त्री एस. जयशंकरसँग उच्चस्तरीय वार्ता गर्ने छन्।

सन् २०२० को जुन महिनामा लद्दाखको गलवान उपत्यकामा भएको भिडन्तपछि भारत–चीन सम्बन्धमा गम्भीर तनाव आएको थियो। उक्त भिडन्तमा २० भारतीय र ४ चिनियाँ सैनिकको ज्यान गएको थियो। त्यसयता दुई देशबीचको विश्वासमा दरार आएको मानिन्छ।

ब्लुमबर्गले हालको चीन–भारत सम्बन्धमा आएको सुधारको पछाडिको कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारतप्रति कडा नीति भएको जनाएको छ। ट्रम्प प्रशासनले भारतबाट आयात हुने सम्पूर्ण सामानमा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेपछि भारतले चीनसँग सम्बन्ध सन्तुलन गर्न खोजेको देखिन्छ।

यसै सन्दर्भमा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई सातापछि चीन भ्रमणमा जाने तय भएको छ। सांघाई कोअपरेसन अर्गनाइजेसन (SCO) को शिखर सम्मेलनमा सहभागी हुन चीन जाँदा उनी चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्नेछन्।

चिनियाँ विदेशमन्त्री वाङको भ्रमणका क्रममा गलवान घटना पछि सीमामा तैनाथ सैनिक घटाउने, सीमामा शान्ति कायम राख्ने र व्यापारिक सम्बन्ध विस्तार गर्ने विषयमा मुख्य रुपमा छलफल हुने अपेक्षा गरिएको छ।

हालै चीनले भारतका तीर्थयात्रीका लागि मानसरोवर यात्रा पुनः खुला गरेको छ भने भारतीय प्रधानमन्त्री मोदीले चिनियाँ पर्यटकका लागि पर्यटक भिसा प्रतिबन्ध हटाइसकेका छन्। यस्तै, चीनले भारतमा युरिया मलको निर्यातमा लगाएको प्रतिबन्ध पनि खुकुलो बनाएको छ।

मोदी निकट व्यवसायी समूह अदानीले चिनियाँ कम्पनी बिवाइडीसँग भारतमा ब्याट्री उत्पादनबारे छलफल गरिरहेको छ भन्ने समाचार पनि सार्वजनिक भएका छन्।

यी गतिविधिहरूले भारत–चीन सम्बन्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने संकेत देखिएको छ।

तपाईको प्रतिक्रिया