गभर्नर नियुक्ति प्रक्रियामा अलमल, ओली–देउवा छलफलमा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तोकेको म्यादसम्म पनि राष्ट्र बैंकको गभर्नर नियुक्ति हुन नसकेपछि अब तीन विकल्पमा छलफल सुरु भएको छ। प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई वैशाख २१ गते बालुवाटारमा बोलाई वैशाख २५ भित्र मन्त्रिपरिषद् बैठकमार्फत गभर्नर नियुक्त गर्ने प्रतिबद्धता जनाएका थिए।

तर उक्त म्यादभित्र न गभर्नर सिफारिस समिति बस्न सक्यो, न नियुक्तिको प्रक्रिया अगाडि बढ्न सक्यो। यही कारण प्रधानमन्त्री ओली र सभापति देउवासहित नेताहरू बिहीबार फेरि बालुवाटारमा छलफलमा जुटे।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार, छलफल पूर्ण रूपमा गभर्नर नियुक्ति प्रक्रियामै केन्द्रित थियो। प्रधानमन्त्री ओली र सभापति देउवाबीच हाल तीन विकल्पमा विचारविमर्श भइरहेको छ।

पहिलो विकल्प: डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्ने

सभापति देउवाले राष्ट्र बैंकका कार्यकारी निर्देशक रहिसकेका डा. गुणाकर भट्टको नाम सिफारिस गरेका छन्। भट्टले वैशाख ५ गते कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए, तर कायममुकायम गभर्नर नीलम ढुंगानाले उनको राजीनामा अहिलेसम्म स्वीकृत गरेकी छैनन्।

यसबीचमा प्रधानमन्त्रीका कानुनी सल्लाहकार अग्नि खरेलसहित कानुन व्यवसायीहरूसँग परामर्श गरिएको थियो। केही कानुन व्यवसायीले ढुंगानाले राजीनामा स्वीकृत नगरे पनि गभर्नर नियुक्तिमा कानुनी अड्चन नआउने बताएका छन्। तर अन्यले भने प्रक्रिया पालना नगरी गरिएको नियुक्ति अदालतबाट बदर हुन सक्ने भन्दै सचेत गराएका छन्।

दोस्रो विकल्प: कायममुकायम गभर्नर फेर्ने

नीलम ढुंगानाले प्रक्रिया अघि नबढाएको भन्दै उनलाई हटाएर अर्का डेपुटी गभर्नर बमबहादुर मिश्र वा अन्य वरिष्ठलाई कायममुकायम बनाउने सम्भावनामा पनि छलफल भइरहेको छ। राष्ट्र बैंक ऐनअनुसार अर्थमन्त्रीले वरिष्ठ डेपुटी गभर्नरलाई कायममुकायम तोक्न सक्छन्।

तेस्रो विकल्प: नयाँ नाम अघि सार्ने

भट्टको नियुक्तिमा कानुनी वा प्रक्रियागत अवरोध रहिरहेमा कांग्रेसबाट नै नयाँ नाम अघि सार्ने विकल्प पनि छलफलमा आएको छ। यसै क्रममा नविल बैंकका पूर्व सिइओ ज्ञानेन्द्र ढुंगाना पनि गभर्नरको आकांक्षीका रूपमा चर्चामा छन्। ढुंगानाले कांग्रेस नेतामार्फत लबिङ गरिरहेको स्रोतहरू बताउँछन्।

सभापति देउवाले भट्टको नाममाथि प्रधानमन्त्री सकारात्मक रहेको तर राष्ट्र बैंक भित्रकै प्रक्रियागत समस्याले ढिलाइ भएको बताएका छन्। कांग्रेस पदाधिकारीहरूको बैठकमा पनि गभर्नर नियुक्तिमा भइरहेको ढिलाइबारे प्रश्न उठेको थियो।

सभापति देउवाले ‘अब चाँडै निर्णय हुन्छ’ भन्दै ढिलाइ अन्त्य हुने संकेत दिएका छन्। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पनि गभर्नर नियुक्तिको विषयमा चाँडै सहमति जुट्ने र योग्य, व्यवसायिक नेतृत्वको नियुक्ति गरिने बताए।

भट्टले अर्थशास्त्रमा अमेरिकाबाट पीएचडी गरेका छन् र पूर्व अर्थमन्त्री प्रकाशशरण महतका सल्लाहकार समेत रहेका थिए। यद्यपि, उनको नाममा सर्वोच्च अदालतमा योग्यता सम्बन्धी पूरक निवेदन दर्ता भए पनि अदालतले कुनै निर्णय गरेको छैन।

गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ मा सकिएको हो। अबको गभर्नर नियुक्तिमा राजनीतिक सहमति र कानुनी प्रक्रिया सँगसँगै अघि बढाइने देखिन्छ।

तपाईको प्रतिक्रिया