गणतन्त्र दिवस २०८२ तीन दिनसम्म भव्यताका साथ मनाइने

काठमाडौँ । सरकारले यस वर्षको गणतन्त्र दिवस २०८२ तीन दिनसम्म विभिन्न कार्यक्रमसहित भव्य रूपमा मनाउने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गर्दै उक्त निर्णय गरेको हो।

मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, काठमाडौं र ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, विशिष्ट श्रेणीका राजपत्रांकित अधिकृतहरू तथा सुरक्षा निकायका प्रमुखहरू सदस्य रहनेछन्।

बैठकले जेठ १४, १५ र १६ गते तीनै दिन साँझ सार्वजनिक निकायहरूमा दीप प्रज्वलन गर्नेसहित त्रिदिवसीय रूपमा दिवस मनाउने निर्णय गरेको हो। यसका लागि संघीय, प्रदेश र स्थानीय सरकार तहगत रूपमा समन्वय गरी उपसमितिहरू समेत गठन गरिनेछ।

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस केवल औपचारिकतामा सीमित नराखी जनस्तरमा समेत सहभागिता हुने गरी भव्य बनाउने आग्रह गरे। साथै, उनले मूल समारोह समितिमा पदेन रूपमा रहने जिम्मेवार व्यक्तिहरू बारम्बार अनुपस्थित हुने प्रवृत्तिको अन्त्य गर्न निर्देशन दिएका छन्।

बैठकमा काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहको उपस्थितिसम्बन्धी विषय उठेको थियो। प्रधानमन्त्री ओलीले छलफलका लागि बोलाइएका व्यक्तिहरू बैठकमा उपस्थित हुने वा नहुनेबारे स्पष्ट जानकारी राख्नुपर्ने बताए। मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्रीको अध्यक्षतामा हुने बैठकमा उपस्थित नहुनुको कारण सोध्न कठिनाइ हुने धारणा व्यक्त गरे।

गणतन्त्र दिवसको मुख्य समारोह जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिनेछ।

तपाईको प्रतिक्रिया