गणतन्त्रको विकल्प अर्को व्यवस्था हुन सक्दैन : अध्यक्ष दाहाल

कञ्चनपुर: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने बताएका छन्। उनले पार्टीको हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई-मधेश जागरण अभियानका लागि पुनर्वास नगरपालिकाको मातियाबस्तीमा आयोजित कार्यक्रममा यो कुरा बताएका हुन्।

अध्यक्ष दाहालले भने, “जनताको बलिदानबाट गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ। गणतन्त्रको विकल्प अर्को शासन व्यवस्था हुन सक्दैन।”

शहीद परिवार सम्मान कार्यक्रममा उनले ‘एक सहिद, एक रोजगार कार्यक्रम’ सञ्चालन गरिने बताए। अध्यक्ष दाहालले सहिद र बेपत्ता योद्धा परिवारप्रतिको जिम्मेवारी र कर्तव्य पूरा गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।

उनले शहीदले देखाएको सत्मार्गमा लाग्ने प्रण गर्दै शहीद परिवारका सदस्यलाई पार्टीले उच्च स्थानमा राखेको बताए। यस अवसरमा उनले शहीद परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान पनि गरे।

त्यसैगरी, बेलौरी नगरपालिकाको रामपुरस्थित खानेपानी आयोजनाको उद्घाटनसमेत अध्यक्ष दाहालले गरेका थिए। सोही नगरपालिकाको पर्यटकीय क्षेत्र शोभातालको अवलोकन पनि उनले गरे।

आजै, अध्यक्ष दाहालले पुनर्वास नगरपालिका-५ शोभाताल प्राङ्गणमा शहीद र बेपत्ता परिवारका सदस्यहरूसँग भेट गरे। भेटमा उनले सहिदहरूको बलिदानलाई खेर जान नदिने र न्याय, सम्मान तथा समानताको मार्गमा अघि बढ्ने प्रतिबद्धता दोहोर्याए।

तपाईको प्रतिक्रिया