खुला क्षेत्रको संरक्षणमा जोड

भक्तपुर । अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) नेपाल र चाँगुनारायण नगरपालिकाको सहकार्यमा ‘खुला क्षेत्रको संरक्षण मेरो दायित्व’ शीर्षकमा वृहत् जनचेतनामुलक कार्यक्रम भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ७ स्थिति हेल्मेड डाँडामा गरिएको कार्यक्रममा आइएओम नेपालका प्रमुख लरेना ल्याण्डो, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, उपप्रमुख बिना बास्तोला लगायत विपद् जोखिम न्यूनीकरण र ब्यवस्थापनको क्षेत्रमा क्रियाशिल ब्यक्तित्वहरुको सहभागीता थियो । स्थानीय समूदायको ब्यापक सहभागीतामा भएको कार्यक्रममा कलाकारहरुले आ–आफ्ना प्रस्तुतीमार्फत खुला क्षेत्रको महत्व र यसलाई संरक्षण गर्नुपर्ने दायित्वबारे बुझाएका थिए ।


कार्यक्रममा आइओएम नेपालका चिफ अफ मिसन लरेना ल्याण्डोले २०७२ सालको महाभूकम्पपछि नेपालमा विपद् जोखिम न्यूनीकरण र ब्यवस्थापप्रति समूदाय सचेत बन्दै गएको वताउनुभयो । खुला क्षेत्रको संरक्षण नगरेमा विपद्बाट बढी क्षति ब्यहोर्नुपर्ने हुनसक्ने भन्दै उहाँले स्थानीय तह र समूदाय मिलेर खुला क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । बहुउद्देशीय भवन निर्माण गरी विपद्को स्थितिमा आश्रयस्थलको रुपमा समेत त्यसलाई प्रयोग गर्न सकिने उहाँको भनाई थियो । आइओएम नेपालले विपद् जोखिम न्यूनीकरण र ब्यवस्थापनमा स्थानीय तह, प्रदेश र संघीय सरकारसँग मिलेर काम गरिरहेको भन्दै उहाँले यो अभियानलाई अझ ब्यापक बनाउनुपर्नेमा जोड दिनुभयो ।


चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले विपद् जोखिम न्यूनीकरण र ब्यवस्थापनमा नगरपालिकाले उल्लेख्य काम गरेको वताउनुभयो । आइओएम नेपाल जस्ता संस्थाको सहयोगमा नगरपालिकामा आपतकालिन कार्यसंचालन केन्द्र, बहुउद्देशीय भवन निर्माण, वडा तहसम्म विपद् ब्यवस्थापन समिति, तत्काल उद्दार र राहतका लागि आवश्यक सबै काम गरिएको उहाँको भनाई थियो । नेपालमा विपद् जोखिम न्यूनीकरण र ब्यवस्थापनमा काम गर्ने पहिलो नम्बरको नगरपालिका बन्न पाउँदा खुशी लागेको भन्दै उहाँले जनताको सुरक्षाका लागि कुनै कसर बाँकी नराखिने वताउनुभयो ।


यस्तै, चाँगुनारायण नगरपालिका उपप्रमुख बिना बास्तोलाले विपद् जोखिम न्यूनीकरण र ब्यवस्थापनमा समूदायको भूमिकालाई प्रभावकारी बनाउन खोजिएको वताउनुभयो ।
कार्यक्रममा कलाकार निरञ्जन बर्माले जादूको माध्यमबाट, गायीका एन्जिला रेग्मीले गीतको माध्यमबाट, कुन्फुनन्सबाट सहकागीहरुले विभिन्न प्रस्तुतीको माध्यमबाट खुला क्षेत्रको महत्वबारे जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया