खाद्य विभाग र काठमाडौं महानगरपालिकाबीच खाद्य स्वच्छता र गुणस्तर कायम गर्न सहमति

काठमाडौं — खाद्य प्रविधि र गुण नियन्त्रण विभाग र काठमाडौँ महानगरपालिकाबीच खाद्य स्वच्छता र गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

सोमबार, विभागको कार्यालयमा काठमाडौँ महानगरपालिका र विभाग बीच सहमति पत्रमा हस्ताक्षर सम्पन्न भएको हो। काठमाडौँ महानगरपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपाने र विभागको तर्फबाट महानिर्देशक सञ्जीव कुमार कर्णले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा बोल्दै विभागका महानिर्देशक कर्णले भने कि विभागको संरचना देशका ७५३ पालिकामा पुग्न नसकिएको कारण एकल प्रयासबाट देशभर खाद्य स्वच्छता र गुणस्तर कायम गर्न सम्भव छैन। उनले यो कार्य तीन तहका सरकारको साझा जिम्मेवारी भएको उल्लेख गर्दै काठमाडौँ महानगरपालिकासँगको सहकार्यलाई प्रारम्भिक कदमको रूपमा लिइएको र आगामी दिनमा यो अभियान देशका सबै पालिकासम्म विस्तार गर्ने लक्ष्य रहेको बताए।

उनले थपे, “हामीले मात्र काम गरेर देशभरका ७५३ पालिकामा खाद्य प्रविधि र गुण नियन्त्रण विभागको संरचना नभएको अवस्थामा यो सम्भव छैन। खाद्य स्वच्छता र गुणस्तर कायम गर्ने कार्य तीन तहका सरकारको जिम्मेवारी हो र यो ऐनले समेत यसलाई परिकल्पना गरेको छ। आजको सहमति एउटा मोडलको रूपमा मात्र सुरूवात हो, जसमा काठमाडौँ महानगरपालिका खाद्य स्वच्छता र गुणस्तर कायम गर्न के गर्ने भन्ने हिसाबले सहमति पत्रमा हस्ताक्षर गरिएको छ।”

महानिर्देशक कर्णले ७५३ पालिकासँग सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे। उनले विभागसँग लामो अनुभव भएता पनि स्रोत र साधनको अभावका कारण केही कार्यहरूमा प्रभावकारी परिणाम दिन नसकिएको कुरा स्वीकृत गरे। उनले खाद्य प्रविधि र दक्ष प्राविधिकलाई समावेश गरेर अनुगमन र नियमन कार्यलाई बलियो बनाउनुपर्नेमा जोड दिए।

अन्त्यमा, उनले खाद्य स्वच्छता र गुणस्तरलाई प्राथमिकता दिने उद्देश्यले महानगरपालिकामा छुट्टै निकाय स्थापनासहित परीक्षण, नियमन र प्रयोगशाला व्यवस्थापन सुधार गर्नुपर्ने कुरा उठाए। उनका अनुसार, यसरी सहकार्य गरी अनुगमनको दायरा विस्तार गर्दा सम्पूर्ण नेपालीहरूको स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पर्नेछ।

तपाईको प्रतिक्रिया