क्यानडाको आमनिर्वाचनमा लिबरल पार्टीको अप्रत्याशित जित

काठमाडौं, वैशाख १८ — क्यानडामा सम्पन्न आमचुनावमा प्रधानमन्त्री मार्क कर्नी नेतृत्वको लिबरल पार्टीले आश्चर्यजनक सफलता हासिल गरेको छ। पछिल्ला सर्वेक्षणहरूमा पछाडि देखिएको लिबरल पार्टीको यो विजयलाई विश्लेषकहरूले अभूतपूर्व परिवर्तनका रूपमा बुझेका छन्।

चुनावअघि लिबरल पार्टीका प्रतिस्पर्धी कन्जरभेटिभ पार्टीका नेता पियर पोइलिभ्रेले लोकप्रियतामा अग्रता लिएका थिए। तर चुनावी परिणामले पुराना अनुमानहरू उल्ट्याउँदै लिबरल पार्टीलाई अगाडि देखाएको हो। यद्यपि पार्टीले संसद्मा स्पष्ट बहुमत पुग्ने नपुग्ने भने अन्तिम मतगणना सकिएपछि मात्र पुष्टि हुने बीबीसीले जनाएको छ।

विश्लेषकहरूका अनुसार लिबरल पार्टीको नतिजामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यवहारले अप्रत्याशित असर पारेको छ। राष्ट्रपति ट्रम्पले क्यानडामाथि आयात कर लगायतका कडा आर्थिक नीतिहरू लागू गर्न सक्ने संकेत दिएका थिए। साथै, उनले क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउनेजस्ता विवादास्पद अभिव्यक्ति दिएपछि क्यानडामा राष्ट्रवादी भावनाले लहर लिएको बताइएको छ।

प्रधानमन्त्री मार्क कर्नीले विजयी सम्बोधनमा भने, “हामीलाई फुटाएर अमेरिकाअन्तर्गत ल्याउने प्रयास भइरहेको छ, तर क्यानडालीहरूका लागि स्वतन्त्रता र स्वाभिमान सबैभन्दा महत्वपूर्ण छ,” भन्दै जनताले देखाएको विश्वासप्रति आभार व्यक्त गरे।

यसअघि, बैंक अफ इंग्ल्यान्डका पूर्वगभर्नर रहिसकेका कर्नीलाई केही महिनाअघि लिबरल पार्टीको नेतृत्वमा ल्याइएको थियो। पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडोको १० वर्षे कार्यकालपछि पार्टीभित्र नेतृत्व परिवर्तन भएको थियो।

अर्कोतर्फ, पराजित कन्जरभेटिभ नेता पोइलिभ्रेले यो परिणामबाट आफ्नो दलले “गम्भीर पाठ सिकेको” प्रतिक्रिया दिएका छन्।

तपाईको प्रतिक्रिया