कोशी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

विराटनगर — आर्थिक वर्ष २०८२/८३ का लागि कोशी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको छ।

आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए। त्यसपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिएको हो।

सरकारको नीति तथा कार्यक्रमप्रति विपक्षी दलका सांसद गोम्बु शेर्पा र खिनु लङ्वा लिम्बूले संशोधन प्रस्ताव दर्ता गराएका थिए। तर, उनीहरूले संशोधन फिर्ता लिन नमानेपछि सभामुख अम्बरबहादुर विष्टले प्रस्ताव मतदानमा राख्दा बहुमतले अस्वीकार गर्‍यो।

यसपछि मूल नीति तथा कार्यक्रम पारित भएको हो। अहिलेको बैठकमा आर्थिक मामिलामन्त्री रामबहादुर मगरले आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिरहेका छन्।

तपाईको प्रतिक्रिया