कोशी प्रदेशका क्रिकेटर मिनष थापाको मोटरसाइकल दुर्घटनामा निधन

काठमाडौं। कोशी प्रदेशका प्रतिभाशाली क्रिकेट खेलाडी मिनष थापाको बिहीबार बिहान मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ। विराटनगरका २७ वर्षीय थापा राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशको टोलीबाट सक्रिय खेलाडी थिए।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कविता कटवालका अनुसार दुर्घटना बिहीबार बिहान करिब पौने १ बजे विराटनगर-४ स्थित भित्री सडकखण्डमा भएको हो। थापाले चलाएको प्रदेश १-०२-०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

दुर्घटनामा गम्भीर घाइते भएका थापालाई तत्काल कोशी अस्पताल लगिएको थियो, तर अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव तथा पूर्व कप्तान पारस खड्काले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै थापालाई कोशी प्रदेशको एक कुशल र अत्यन्त प्रतिभाशाली खेलाडीको रूपमा स्मरण गरेका छन्। उनले लेखेका छन्, “अत्यन्तै दुःखद खबर प्राप्त भएको छ। कोशी प्रदेशका प्रतिभाशाली क्रिकेट खेलाडी भाइ मिनष थापाको असामयिक निधनले हामी सबैलाई गहिरो शोक र स्तब्धतामा पारेको छ।”

सचिव खड्काले दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। मिनष थापा लामो समयदेखि कोशी प्रदेशको टोलीबाट घरेलु क्रिकेटमा सक्रिय खेलाडी थिए।

तपाईको प्रतिक्रिया