जेन–जी’ आन्दोलन: कोटेश्वर ट्राफिक प्रभाग आगजनी प्रकरण, दुई जनामाथि अदालतमा मुद्दा दायर

काठमाडौं — ‘जेन–जी’ आन्दोलनका क्रममा कोटेश्वरस्थित ट्राफिक प्रहरी प्रभागमा पेट्रोल बम प्रहार गरी आगजनी तथा लुटपाट गरेको आरोपमा दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रहरी अनुसन्धानका आधारमा निमा दोर्जे (प्रभास तामाङ) र समिर थपलियाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ‘आपराधिक उपद्रव’ कसुरमा अभियोग दायर गरेको हो।

अभियोगपत्रअनुसार आगजनीबाट भएको क्षतिको भरपाईस्वरूप प्रतिवादीहरूबाट १ करोड ३८ लाख ५९ हजार ४ सय रुपैयाँ बिगो असुल उपर गर्न माग गरिएको छ।

अभियोगपत्रमा उल्लेख भएअनुसार २०८२ भदौ २४ गते जेन–जी समूहले आह्वान गरेको विरोध प्रदर्शन उग्र बनेपछि कोटेश्वर क्षेत्रमा रहेका केही प्रदर्शनकारीले ट्राफिक प्रहरी प्रभागमा आक्रमण गरेका थिए।

सिन्धुपाल्चोकको हेलम्बु घर भई हाल काठमाडौंको जडिबुटी बस्ने २० वर्षीय निमा दोर्जेले प्रहरी कार्यालयको कम्पाउन्डभित्र पार्किङमा रहेका मोटरसाइकल तथा भवन लक्षित गरी पेट्रोल बम प्रहार गरेको अभियोगपत्रमा उल्लेख छ। सीसीटीभी फुटेजका आधारमा उनलाई पक्राउ गरिएको र बयानमा उनले पेट्रोल बम प्रहार गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ।

त्यसैगरी, काभ्रेपलाञ्चोकको पाँचखाल घर भई ललितपुरको इमाडोल बस्ने २३ वर्षीय समिर थपलियाले आगजनी भइरहेको अवस्थामा प्रहरी कार्यालयभित्र प्रवेश गरी ‘मन्त्र’ ब्रान्डको गितार लुटपाट गरेको अभियोग लगाइएको छ। प्रहरीले उनको साथबाट उक्त गितार बरामद गरेको जनाएको छ।

घटनाका क्रममा ट्राफिक प्रहरी प्रभागको भवन, फर्निचर, कम्प्युटर, सञ्चार उपकरण, प्रहरी पोसाक तथा पार्किङमा राखिएका सवारीसाधनमा क्षति पुगेको अभियोगपत्रमा उल्लेख छ। यसमा एक सेवाग्राहीको मोटरसाइकल जलेर नष्ट भएको विवरण पनि समावेश गरिएको छ।

अभियोगपत्रमा मोटरसाइकलतर्फ २ लाख ६१ हजार ९ सय रुपैयाँ र कार्यालय भवन तथा जिन्सी सामानतर्फ १ करोड ३५ लाख ९७ हजार ५ सय रुपैयाँ गरी कुल १ करोड ३८ लाख ५९ हजार ४ सय रुपैयाँ बिगो दाबी गरिएको छ। उक्त रकम प्रतिवादीहरूबाट दामासाहीका आधारमा भराउन माग गरिएको छ।

सरकारी वकिल कार्यालयले मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ अनुसार अभियोग दायर गर्दै उपदफा (३) (ख) बमोजिम पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद तथा बिगोअनुसार जरिवानाको सजाय माग गरेको छ।

यस घटनामा संलग्न भएको आशंकामा महेन्द्र मैनालीसहित अन्य व्यक्तिमाथि अनुसन्धान जारी रहेको र पहिचान खुलेपछि थप अभियोग लगाइने सरकारी वकिल कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया