कैलाली कारागार प्रमुखमा जलान्धर भुसाल नियुक्त

काठमाडौं, —कैलाली जिल्ला कारागारको प्रमुखमा जलान्धर भुसाल नियुक्त भएका छन्। कारागार व्यवस्था विभागले बिदामा रहेका जेलर बसन्त खत्रीको स्थानमा शनिबार भुसाललाई जिम्मेवारी दिएको हो। उनले शनिबार बेलुकीबाट कारागारको नेतृत्व सम्हालेका छन् भन्ने जानकारी जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले दिएका छन्। भुसाल यसअघि बाँकेको नौबस्ता कारागार प्रमुख थिए।

यसअघि शुक्रबार कैलाली कारागारमा कैदीबन्दीको दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँ पठाइएको छ भने अर्का एक जनालाई सेती प्रादेशिक अस्पतालको आइसीयुमा राखेर उपचार भइरहेको छ।

कैलाली कारागारमा अधिकारी तहमा नियुक्ति नहुँदा खरिदार तहका कर्मचारीहरूले निमित्त जेलरको जिम्मेवारी सम्हालेका थिए। गत असार २८ गते कैदीबन्दीबीच भएको झडपपछि जेलर बसन्त खत्रीले ज्ञानेन्द्र ओझालाई निमित्त जिम्मेवारी दिएका थिए। ओझाले पनि केही दिनअघि मात्र खरिदार रामकुमार चौधरीलाई निमित्त जिम्मेवारी दिएका थिए। घटनापछि शनिबार नै कारागार प्रमुख परिवर्तन गरिएको हो।

तपाईको प्रतिक्रिया