कैलालीमा खैरो हिरोइनसहित ६ जना पक्राउ, प्रहरीको सक्रियता बढ्दो

कैलाली — कैलाली जिल्लामा खैरो हिरोइनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध दुव्र्यसन र कारोबारविरुद्ध सञ्चालन भइरहेको निगरानीका क्रममा विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन्।

प्राप्त सूचनाका आधारमा घोडाघोडी नगरपालिका–१, सुखडस्थित एक बाँझो घरमा लागूऔषध सेवन भइरहेको आशंकामा पुगेको प्रहरीले सो स्थानबाट लक्ष्मीपुरका २० वर्षीय उमेशनाथ योगी, १९ वर्षीय विनोद मिजार, १९ वर्षीय दिनेशबहादुर विष्ट र साडेपानीका दुई १८ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, उनीहरूको शरीर खानतलासी गर्दा खैरो हिरोइनजस्तो देखिने २१ ग्राम ८२० मिलिग्राम धुलो पदार्थ फेला परेको छ।

यस्तै, गोदावरी नगरपालिका–५ स्थित गेटा क्षेत्रबाट शंका लागेर जाँच गर्दा धनगढी उपमहानगरपालिका–४ मनहराका २० वर्षीय कमल रिजाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनको साथबाट ५ ग्राम १८० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया