कुसुन्ती हाइटबाट चितुवा उद्धार, उपचारपछि बासस्थानमा फर्काइने

ललितपुर – जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती हाइटस्थित माछापुच्छ्रे स्कूलको स्टोरबाट आज बिहान एक चितुवा उद्धार गरेको छ।

सदर चिडियाखानाको टोलीले सातदोबाटो प्रहरी, जिल्ला वन कार्यालय ललितपुर र ललितपुर महानगरीय प्रहरीको सहयोगमा ‘डार्ट’ प्रयोग गरी चितुवालाई उद्धार गरेको थियो।

अनुमानित १० वर्षको र करिब ६० केजी तौलको उक्त चितुवालाई उद्धारपछि उपचारका लागि चिडियाखानाको वन्यजन्तु अस्पतालमा राखिएको छ। चिडियाखाना प्रमुख सत्यनारायण साहले बताएअनुसार, उपचारपछि चितुवालाई यसको प्राकृतिक बासस्थानमा फर्काइनेछ।

सदर चिडियाखानाले विगत एक वर्षमा २४१ वन्यजन्तु, चराचुरुङ्गी र स्तनधारीहरूको उद्धार गरेको छ। त्यसमध्ये ५७ प्राणीहरू उपचारपछि प्राकृतिक बासस्थानमा फर्काइएका थिए। हाल चिडियाखानामा ११५ प्रजातिका करिब १,३०० वन्यजन्तु छन्।

तपाईको प्रतिक्रिया