‘कुलिङ पिरियड’ प्रकरणले संसदीय समितिमा विवाद, सभापति खतिवडा र सचिव दुराको राजीनामा माग

काठमाडौं — संघीय निजामती सेवा विधेयकमा विवादास्पद रूपमा समावेश गरिएको ‘कुलिङ पिरियड’ प्रावधानलाई लिएर प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बुधबार तीव्र विवाद भएको छ।

समितिमा पूर्वसहमति विपरीत विधेयक संसदमा प्रस्तुत र पारित भएको भन्दै केही सांसदहरूले समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराको राजीनामा माग गरेका छन्।

बैठकमा सांसद कृष्णगोपाल श्रेष्ठले सभापति र सचिवको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै अब उनीहरूलाई सम्बन्धित पदमा स्वीकार गर्न नसकिने बताए। ‘दुराजीले नैतिक अधिकार गुमाइसक्नुभएको छ,’ श्रेष्ठले भने, ‘अब तपाईंलाई राज्य व्यवस्था समितिको सचिव मान्न सकिन्न। सभापति खतिवडाजी पनि त्यो कुर्सीमा बस्ने हैसियतमा हुनुहुन्न।’

श्रेष्ठले विधेयकमा गरिएको संशोधनलाई ‘सुविचारित ढंगको अपराध’ भन्दै दोषीहरूले मार्गप्रशस्त गर्नुपर्ने धारणा राखे। उनले आजको बैठकलाई उक्त नेतृत्वमा सम्पन्न अन्तिम बैठकका रूपमा लिनुपर्ने धारणा राख्दै छानबिनको माग गरे।

बैठकमा अन्य केही सांसदहरूले पनि विधेयकमा सहमतिविपरीत ‘कुलिङ पिरियड’ को व्यवस्था प्रवेश गराइनु समिति र संसदप्रति अपमानजनक कार्य भएको भन्दै जिम्मेवार व्यक्तिहरूले जवाफदेही हुनुपर्ने बताएका थिए।

यस विषयमा समितिको औपचारिक निर्णय आउन बाँकी रहेको छ भने सभापति खतिवडा र सचिव दुराले भने तत्काल स्पष्ट धारणा सार्वजनिक गरेका छैनन्।

तपाईको प्रतिक्रिया