कार र मोटरसाइकल ठोक्किँदा बाबुछोरीको मृत्यु

रौतहट । रौतहटको चन्द्रपुरमा आइतबार बिहान भएको दुर्घटनामा बाबुछोरीको मृत्यु भएको छ। पूर्वपश्चिम लोकमार्ग अन्तर्गत पश्चिम लच्का नजिक कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा उक्त दु:खद घटना भएको हो।

दुर्घटनामा मृत्यु हुनेमा गरूडा नगरपालिका-२, गेडही गुठ्ठी निवासी ६० वर्षीय बलिराम सहनी र ४० वर्षीया उनकी छोरी उर्मिला देवी रहेका छन्।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईका अनुसार, चन्द्रनिगाहपुरबाट निजगढतर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई हेटौडाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले ठक्कर दिएको थियो।

यस दुर्घटनामा परि गम्भीर घाइते भएका दुवैजनाको उपचारको क्रममा मृत्यु भएको डिएसपी राईले बताए। बुवा बलिराम सहनीको चन्द्रपुरस्थित हाइवे ट्रमा सेन्टर र छोरी उर्मिला देवीको बारामा रहेको एलएस न्यूरो हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको पुष्टि गरिएको छ।

कार चालक ४३ वर्षीय कुमार पोखरेललाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको छ।

तपाईको प्रतिक्रिया