काठमाडौं महानगरको २५ अर्बको बजेट प्रस्ताव, पूर्वाधारमा ५१ प्रतिशत विनियोजन सिफारिस

काठमाडौं — काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट ल्याउने भएको छ। शुक्रबार बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले आगामी वर्षका लागि खर्च र आम्दानीको आधारमा बजेटको सीमा निर्धारण गरेको हो।

महानगरपालिकाका सहप्रवक्ता ध्रुव काफ्लेका अनुसार, प्रस्तावित बजेटमा सबैभन्दा धेरै रकम भौतिक पूर्वाधार क्षेत्रका लागि विनियोजन गर्न सिफारिस गरिएको छ। उनका अनुसार कुल बजेटमध्ये ५१ प्रतिशत भौतिक तथा पूर्वाधार क्षेत्रमा, २० प्रतिशत शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रका लागि, तथा बाँकी २९ प्रतिशत अन्य कार्यक्रम र प्रशासनिक क्षेत्रमा छुट्याउने प्रस्ताव गरिएको छ।

“बजेटको प्राथमिकता महानगरको विकास निर्माणलाई तीव्र बनाउनेतर्फ केन्द्रित गरिएको छ,” काफ्लेले बताए। उनका अनुसार बजेटको अन्तिम स्वरूप नगरसभाबाट अनुमोदन भएपछि मात्रै कार्यान्वयनमा आउनेछ।

स्रोत अनुमान समिति अन्तर्गत आर्थिक तथा योजना महाशाखाको समन्वयमा विभिन्न क्षेत्रको अनुमान गरिएको बजेटले शिक्षा, स्वास्थ्य, पूर्वाधार, वातावरण, सूचना प्रविधि र सामाजिक विकासलाई सन्तुलनमा राख्दै विनियोजन सिफारिस गरिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया