काठमाडौं महानगरको छानबिन प्रतिवेदन सार्वजनिक भएपछि प्रमुख प्रशासकीय अधिकृत पठाइने: मन्त्री गुप्ता

फाइल तस्बिर।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले काठमाडौं महानगरपालिकाले छानबिन प्रतिवेदन सार्वजनिक गरेपछि प्रमुख प्रशासकीय अधिकृत पठाउने निर्णय गरिने बताएका छन्।

काठमाडौं महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको कार्यसम्पादनमाथि छानबिन गर्न पूर्वसचिव शंकरप्रसाद पाण्डेको नेतृत्वमा समिति गठन गरेको थियो, तर हालसम्म प्रतिवेदन सार्वजनिक गरिएको छैन। मन्त्री गुप्ताका अनुसार, महानगरले प्रतिवेदन सार्वजनिक गरेपछि मात्रै प्रमुख प्रशासकीय अधिकृत पठाउने निर्णय लिइने छ।

मन्त्री गुप्ताले भने, “मन्त्रालयको अप्ठेरो के छ भने, यसअघि मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ, उहाँलाई नझिकी अर्को पठाउन मिल्दैन। महानगरले छानबिन प्रतिवेदन सार्वजनिक गरेपछि, बिहीबारको मन्त्रिपरिषद् बैठकमा निर्णय गरिनेछ।”

उनले सोमबार आफ्नो गृहजिल्लामा रहेको र मंगलबार मन्त्रालय पुगेर बैठक गरी निर्णय गर्ने जानकारी दिए। साथै, काठमाडौं महानगरमात्र होइन, वीरगञ्ज र विराटनगर महानगरमा पनि प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहेको जानकारी पनि दिएका छन्। त्यस्तै, रिक्त स्थानमा खटाउन ३८ जना सहसचिव आवश्यक पर्ने पनि उनले उल्लेख गरे।

यसअघि, काठमाडौं महानगरका मेयर बालेन शाहले पुरानो बसपार्कस्थित काठमाडौं टावरको निर्माण प्रक्रियामा नक्सा स्वीकृति बिना भवन निर्माणको आरोपमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन समिति गठन गरेका थिए।

तपाईको प्रतिक्रिया